इजरायल-हमास युद्धविराम : १५ महिनादेखि जारी युद्ध अन्त्य

इजरायल-हमास युद्धविराम : १५ महिनादेखि जारी युद्ध अन्त्य


काठमाण्डु- लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् ।

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ । त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ ।

यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन् । यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ ।

भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ ।

बीबीसीका अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ । राष्ट्रपति बाइडनले यस सम्झौता इजराली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनस्र्थापनाको अवसर रहेको बताएका छन् ।

उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन् । कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताए ।

अमेरिकी राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडी यस सम्झौता घोषणा गरेका थिए । उनले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन् । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ ।

डेर अल–बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ ।

अन्यत्र इजरायली हमला भएका विवरण समेत छन् । हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधवार मात्र इजरायली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन् ।

इजरायली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन् । उनीहरूमा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ ।

गाजा युद्धको क्षति

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए ।

त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।