काठमाण्डु-इजरायल र हमासबीच १५ महिनादेखि जारी युद्ध रोक्न युद्धविराम गरेका छन् । युद्धविरामको अवधिमा हमासले गाजामा बन्धक बनाइएका इजरायली नागरिकहरूलाई रिहा गर्ने छ भने इजरायलले पनि हमासका बन्दीहरूलाई रिहा गर्नेछ ।
युद्धविरामको बारेमा आधिकारिक घोषणा हुन बाँकी नै छ । तर कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानीले यो युद्धविराम जनवरी १९ देखि लागू हुने बताएका छन् ।
इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले हमाससँग युद्धविराम सम्झौता अझै नसकिएको बताएको छ । अल जजीराको रिपोर्ट अनुसार कतारका प्रधानमन्त्री थानीले बुधबार हमास र इजरायलका प्रतिनिधिहरूसँग भेट गरेका थिए । त्यसपछि यो सम्झौता भएको हो । यो सम्झौता इजिप्ट, कतार र अमेरिकाको सहयोगमा कतारको राजधानी दोहामा भएको हो ।
७ अक्टोबर २०२३ देखि गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको थियो । यस क्रममा दुवै पक्षका ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । हमासले इजरायलमा आक्रमण गरेर २५१ जनालाई बन्धक बनाएको थियो । हमाससँग हाल ९४ इजरायली बन्धक रहेको बताइएको छ । यद्यपि, इजरायलले यी बन्धकमध्ये ६० जना मात्र जीवित रहेको जनाइएको छ ।
युद्धविराम सम्झौताको पहिलो चरणमा इजरायली सेना गाजा सीमाबाट ७०० मिटर पछाडि आफ्नो क्षेत्रमा सर्नुपर्ने हमासको शर्त छ । हाल यो युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्मा पेश हुने छ । त्यहाँ अनुमोदन भएपछि युद्धविराम सम्झौता तुरुन्तै लागू हुनेछ ।
सम्झौता लागू भएपछि हमासले बन्धकहरूलाई चाँडै रिहा गर्ने जनाएका छन् । इजरायल र हमास बीचको युद्धविरामको पहिलो चरण कुल ४२ दिनसम्म रहने छ । युद्धविराम सम्झौताको पहिलो चरणमा हमासले ५ महिलासहित ३४ बन्धकहरूलाई रिहा गर्ने छन् । अर्कोतर्फ इजरायलले यसको बदलामा २५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछन् ।
१५ दिन पछि हमासले बाँकी बन्धकहरूलाई पनि रिहा गर्नेछन् । यसैबीच, दुवै पक्षले स्थायी युद्धविरामको बारेमा छलफल गर्नेछन् ।
के युद्धविरामसँगै जोशी रिहाइको बाटो खुल्यो ?
इजरायल र हमासबीच भएको युद्धविरामसँगै बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशी रिहाइको बाटो खुलेको भन्ने आशा पनि बढेको छ । हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गरेयता जोशी बेपत्ता छन् । उनको रिहाइका लागि विभिन्न पहल भएपनि सफलता हासिल हुन सकेको छैन ।
यसबीचमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका जोशीको रिहाइका लागि इजरायलका विदेशमन्त्री गिडियन सार र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलाजिज अलखुलाइफीसँग बेग्लाबेग्लै फोनवार्ता गरेकी छन् । हमासले आफ्नो नियन्त्रणमा रहेकामध्ये केहीलाई मुक्त गर्न लागेको समाचार आएपछि परराष्ट्रमन्त्री राणाले जोशीको रिहाइका लागि पहल गरिदिन कूटनीतिक सक्रियता बढाएकी थिइन् ।
खुलाइफी कतार सरकारका तर्फबाट हमाससँगको शान्ति वार्ताका लागि प्रमुख वार्ताकार एवं मध्यस्थकर्ता हुन् । त्यसअघि गत साता परराष्ट्रमन्त्री राणाले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुवै देशसँग जोशीको रिहाइका लागि प्रयास गरिदिन अनुरोध गरेकी थिइन् ।
तर, युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ बन्धकलाई रिहा गर्न हमास सहमत भए पनि नेपाली विद्यार्थी जोशीको नाम भने छैन । इजरायलसँगको सम्भावित सम्झौताअनुसार पहिलो चरणमा ३४ बन्दीलाई रिहा गर्न हमास सहमत भएको हो ।
युद्धविराम लागू भएपछि पहिलो चरणमा ती बन्दीहरू रिहा गरिने हमासले बताएको छ । ती बन्दीहरूको सूचीमा इजरायली नागरिकहरू मात्र छन् ।
यसअघि आफ्नो नियन्त्रणमा १०० जना बन्दी रहेको सार्वजनिक जानकारी गराएको हमासले पहिलो सूचीमा ती ३४ जनाको नाम सार्वजनिक गरेको हो ।
हमासले सार्वजनिक गरेको सूचीमा महेन्द्रनगरका जोशीको नाम नरहेको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए । उनले लडाकु समूह हमासले स्वदेशी बन्दीहरूलाई मात्र साटफेर गर्ने भएकाले पहिलो चरणमा विदेशी नागरिकलाई रिहा गर्ने सम्भावना नरहेको बताए ।
‘हामीलाई प्राप्त जानकारीअनुसार हमासले रिहा गर्न लागेका ३४ जनामा कुनै पनि विदेशी नागरिक छैनन् । त्यसैले नेपाली विद्यार्थी जोशीको नाम छैन’, राजदूत पण्डितले भने, ‘इजरायल सरकारको नियन्त्रणमा रहेका हमासका लडाकुलाई रिहा गराउन उसले बन्दी साटफेर गरेको हो, जसमा सबै इजरायली नागरिक मात्र छन् ।’
गत वर्ष २० असोजमा हमास समूहले इजरायलमा आक्रमण गरेको थियो । आक्रमणमा नेपालका १० जना विद्यार्थी मारिएका थिए भने ४ जना घाइते भएका थिए । आक्रमणमा हजारभन्दा बढीको मृत्यु भएको थियो । उक्त घटनापछि जोशी अहिलेसम्म बेपत्ता छन् । प्रत्यक्षदर्शी नेपाली विद्यार्थीले जोशीलाई हमास लडाकुले कब्जामा लिएर लगेको बताएका छन् ।
केही समयअघि सार्वजनिक भएको एक भिडियो फुटेजमा जोशी जीवितै रहेको सूचना आएको थियो । यसै वर्ष मंसिरमा नेपालका लागि इजरायली राजदूत समुलिक ए. वासले जोशी गाजा क्षेत्रमा जिउँदै रहेका सूचना पाएको बताएका थिए ।
प्रतिक्रिया