गठबन्धन सरकारलाई परिणामुखी बनाउन कांग्रेसको निर्देशन

गठबन्धन सरकारलाई परिणामुखी बनाउन कांग्रेसको निर्देशन

प्रधानमन्त्रीले कांग्रेससँग छलफल गरेरै अध्यादेश ल्याएका हुन् : महामन्त्री थापा


काठमाण्डु- सत्तारुढ नेपाली कांग्रेसले गठबन्धन सरकारलाई प्रभावकारी र परिणाममुखी ढंगले अगाडि बढाउने विषयमा छलफल गरेको छ ।

सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकमा कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीले आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे ब्रिफिङ गरेका छन् ।

बैठकमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरू मात्र उपस्थिति थिए । उनीहरूले आ–आफ्नो मन्त्रालयले गरेको काम र आगामी रणनीतिबारे सभापति देउवालाई ब्रिफिङ गरेका थिए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीका अनुसार सोचे अनुसारको काममा तिब्रता दिन नसकेको मन्त्रीहरूले उल्लेख गरेका छन् ।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएका छन् ।

कांग्रेसले लिएका मन्त्रालयमार्फत जनतालाई डेलिभरी दिने गरी काम गर्न सभापति देउवाले निर्देशन दिएका छन् । यस्तै बैठकमा अध्यादेशको विषय पनि छलफल भएको छ । तर कांग्रेसकै सहमतिमा अध्यादेश आएकाले विस्तृत छलफल भने नभएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

छलफलमा महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग समन्वय र छलफल गरेरै अध्यादेश ल्याएको जानकारी दिए । ‘सरकारले ल्याएको अध्यादेश हामीसँग छलफल भएरै अध्यादेश आएको हो । यसमा चर्चा परिचर्चा गर्न आवश्यक छैन’, महामन्त्री थापाको भनाइ उद्धृत गर्दै मन्त्री चौधरीले भने ।