कांग्रेसमा संसदीय अनुशासन समिति गठन, संयोजकको जिम्मेवारी बडूलाई

कांग्रेसमा संसदीय अनुशासन समिति गठन, संयोजकको जिम्मेवारी बडूलाई


काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसले संसदीय अनुशासन समिति गठन गरेको छ ।

बिहीबार पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरू र संसदीय कार्यसमितिको बैठकले सांसद दीलेन्द्र बडूको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।

बैठकमा कांग्रेसको तर्फबाट सरकारमा रहेका मन्त्रीहरूले आफ्नो कार्यप्रगति विवरण पेश गरेका छन् ।

यसैगरी, कांग्रेसले मन्त्रीहरूलाई हप्ताको २ दिन पार्टी कार्यालयमा पुग्न निर्देशन दिएको छ । बैठकमा सभापति देउवाले मन्त्रीहरूलाई निर्देशन दिएका प्रमुख सचेतक घिमिरेले जानकारी दिए ।

मन्त्रीहरूले गुनासो नसुनेको गुनासो नेता–कार्यकर्ताले गर्न थालेपछि गुनासो सुन्ने गरी हप्ताको २ दिन पार्टी केन्द्रीय कार्यालय पुग्न कांग्रेसले निर्देशन दिएको छ । ‘मन्त्रीहरू अब साताको २ दिन सानेपा पुग्नुहुनेछ । पार्टीका नेता–कार्यकर्तासँग उतै भेटघाट हुने र गुनासो सम्बोधन गर्ने काम हुनेछ,’ उनले भने ।

स्थानीय तहबाट आउने गुनासोलाई सम्बोधन गर्न छुट्टै छलफल गरिने उनले बताए ।