चितवन – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
चितवनको माडी नगरपालिका–१ वनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेष रूपले सोच्नुपर्ने बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु ।’
उनले बोटे समुदायको प्रगति भएको बताए । उनले भने, ‘तपाईंहरू जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईंहरूको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।’
चितवनको माडी नगरपालिका–१ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटनका लागि माडी पुगेका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।
सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरूसँग संक्षिप्त कुराकानी गरेका थिए । बोटे समुदायका अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । अध्यक्ष प्रण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बोटे समुदायको राजधानीको रूपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षात्कार गरेका थिए ।
प्रतिक्रिया