बुढानीलकण्ठमा गृहमन्त्री र ऊर्जामन्त्रीबीच सुरक्षा व्यवस्थाबारे भनाभन

बुढानीलकण्ठमा गृहमन्त्री र ऊर्जामन्त्रीबीच सुरक्षा व्यवस्थाबारे भनाभन


काठमाण्डु – सुरक्षा व्यवस्थाबारे नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने २ मन्त्रीबीच भनाभन भएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको संसदीय दलको कार्यसमिति बैठकमा भनाभन भएको हो ।

गृहमन्त्री रमेश लेखक र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काबीच सुरक्षा व्यवस्थाबारे सभापति देउवाकै अगाडि भनाभन भएको हो । ऊर्जामन्त्री खड्काले आफूमाथि मन्त्रालयमै हातपात भएको भन्दै सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएपछि २ मन्त्रीबीच भनाभन भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

कांग्रेस सभापति देउवाले बिहीबार बढुनालीलकण्ठमा राखेको मन्त्री सहितको संसदीय दल कार्यसमितिको बैठकमा खड्काले आफूमाथि गत शुक्रबार मन्त्रालयबाट बाहिरिँदै गर्दा हातपात भएको बताएका थिए । मन्त्रालयको सिडीमै हातपातको प्रयास हुँदा पनि सुरक्षाकर्मी समयमै नपुगेको बताएपछि त्यसको जवाफ गृहमन्त्री लेखकले दिँदा भनाभन भएको ती मन्त्रीले बताए ।

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग इगो साँधेर काम गरिरहेका मन्त्री खड्काले आक्रोशित भावमा गृहमन्त्रीमाथि प्रश्न उठाएको ती नेताले बताए । मन्त्री खड्काले गृहमन्त्री लेखकलाई प्रश्न गर्नै भनेका थिए, ‘किन मन्त्रालयमै सुरक्षा व्यवस्था कमजोर भयो ?’

त्यसपछि गृहमन्त्री लेखकले उर्जमन्त्री खड्कालाई जवाफ दिँदै आफूमाथि हातपात हुँदासम्म पनि किन समयमा जानकारी नदिएको भन्दै जवाफ फर्काएका थिए । ‘मलाई समयमै किन भन्नुभएन त ?’ लेखकले खड्कालाई सोधेका थिए ।

केहीबेरको भनाभनपछि गृहमन्त्री लेखकले अब यस्ता घटना दोहोरिन नदिने बताएका थिए ।

पार्टीकै मन्त्रीबीच भनाभनको अवस्था आएपछि सभापति देउवाले सबैलाई समन्वयमा काम गर्न र झगडा नगर्न पनि निर्देशन दिएको ती नेताले बताए ।