छिट्टै गुड्दैछ नेपाली ‘झण्डावाल’ रेल : प्रधानमन्त्री ओलीले जगाएको सपना पूरा हुँदै

छिट्टै गुड्दैछ नेपाली ‘झण्डावाल’ रेल : प्रधानमन्त्री ओलीले जगाएको सपना पूरा हुँदै


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जगाएका बहुचर्चित सपनामध्ये रेल सपना पनि एक हो । विभिन्न भाषणमा प्रधानमन्त्री ओलीले रेलको सन्दर्भलाई व्याख्या गर्ने गर्छन् । रेलको विषयलाई ओलीका आलोचकले गफ मात्रै भनेर उडाउने गरेका छन् । दुईतिहाई बहुमतको सरकारले ९ महिना पूरा गर्दासम्म पनि रेल चलाउन नसकेको भनेर आलोचनाको विषय बनाउने गरिएको छ । तर, अब नेपाली जनताको रेलमा चढ्ने सपना छिट्टै पूरा हुने भएको छ ।

प्रदेश नम्बर २ को जनकपुरदेखि भारतको जयनगरसम्म चलाउन सरकारले रेल किन्ने प्रक्रिया शुरू गरेको छ । नेपाली स्वामित्वको रेलमा सानदार तरिकाले नेपाली झण्डा फहराउन मिल्ने छ । रेल गुड्ने ट्रयाक निर्माण सम्पन्न हुनै लागेकाले सरकारले रेलको बन्दोबस्त गर्ने प्रक्रिया अगाडि बढाएको हो । प्रारम्भिक चरणमा रेल भाडामा लिएर सञ्चालन गर्ने विषयमा रेल विभागले छलफल गरेपनि भाडामा लिँदा पनि लागत महंगो पर्ने भएकाले आफ्नै स्वामित्वको रेल किनेरै गुडाउने प्रक्रिया अगाडि बढेको छ । नेपाली स्वामित्वकै रेल भएपछि सञ्चालनको व्यवस्थापनमा पनि नेपालकै सर्वाधिकार हुनेछ ।

भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटरमा रेल गुड्नेछ । जसका लागि अर्थ मन्त्रालयले भौतिक योजना तथा यातायात मन्त्रालयलाई ५० करोड रुपैयाँ बजेट छुट्याएको छ । रेल विभाग, मन्त्रालय र प्रधानमन्त्रीबीच विभिन्न चरणमा छलफल भएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा अर्थ मन्त्रालयले रेल किन्न ५० करोड रुपैयाँ निकासा गरेको छ । दुई वटा रेल किन्न एक अर्ब आवश्यक पर्ने भएकाले थप रकम दोस्रो चरणमा निकासा गरिने जनाइएको छ । रेल किनेर सञ्चालन गर्दा र भाडामा सञ्चालन गर्दा वार्षिक लागत लगभग उस्तै पर्ने देखिएकाले किनेर नै सञ्चालन गर्ने निष्कर्षमा पुगिएको भौतिक योजना तथा यातायात मन्त्रालयका सहसचिव राजेन्द्रराज शर्माले बताए । रेल खरिद गर्ने विषयमा रेल विभागका महानिर्देशक बलराम मिश्र र सिनियर डिभिजन इन्जिनियर अमन चित्रकारले अध्ययन गरिरहेका छन् ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले सरकारले रेल किनेर सञ्चालनमा ल्याउने तयारी गरेको बताए । ‘पहिले लीजमा रेल चलाउने विषयमा भारतीय पक्षसँग कुराकानी भएको थियो । तर अब सरकारले आफ्नै रेल किनेर सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको छ,’ महानिर्देशक मिश्रले भने, ‘त्यसका लागि नेपाल सरकारले भारतीय पक्षसँग कुराकानी अगाडि बढाइसकेको छ ।’ रेल किन्नका लागि भारतको कोन्कर्ण कम्पनी र राइट्स कम्पनीसँग कुराकानी भइरहेको छ । ‘नेपाल सरकार र भारत सरकारको तहमा त्यो कुराकानी भइरहेको छ,’ उनले भने, ‘भारतको महाराष्ट्र राज्यको मुम्बईमा कोन्कर्ण कम्पनीको हेडक्वार्टर छ ।’

प्रधानमन्त्री ओलीले नेपालमा रेल सञ्जाल छिटो अगाडि बढाउन पटक–पटक निर्देशन दिएकाले अहिले भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म पहिलो चरणमा रेल सञ्चालनमा आउने छ । लगत्तै डेढ वर्षभित्रै बर्दिबाससम्म र त्यसपछि बर्दिबासदेखि निजगढसम्म रेल चलाउन सरकारको तयारी तीब्र गतिमा अगाडि बढिरहेको मिश्रले बताए । देश समृद्ध बनाउने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सपना जगाएका थिए । रेल सपना २ नम्बर प्रदेशको जनकपुरबाट पूरा हुने भएको छ । प्रक्रियामा रहेको रेल सञ्जाल विस्तार कार्यलाई नदेखेझै गरी आलोचनाको विषय बनाउन थालिएपछि सरकारले तत्कालै रेल किन्ने प्रक्रिया अगाडि बढाएको देखिएको छ ।