प्रधानमन्त्री ओलीविरुद्ध झलकुमारले गरे सर्वोच्चमा रिट दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध झलकुमारले गरे सर्वोच्चमा रिट दर्ता


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ग्रामथान गाउँपालिका–३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्धा दायर गरेका छन् । भगत नेपाली सेनाका भगौडा हुन् ।

भगत २०६२ साल साउन ८ मा तत्कालिन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनी वाइसीएलको स्थानीय नेताका रुपमा काम गरे ।

भगतलाई २०७४ मंसिर ८ गते राति आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले पक्राउ गरी नेपाली सेनाको पूर्वी पृतना इटहरीको जिम्मा लगाएको थियो । प्रहरीले उनलाई निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो । तर, पछि भगौडा भन्दै सेनाले नियन्त्रणमा लिएको पारिवारिक श्रोतले जानकारी दियो ।

भगतविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो । हाल उनी मकवानपुरको भीमफेदी कारागारमा छन् । रिट निवेदकले आफूलाई विस्तृत शान्ति सम्झौता, तत्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमति लगायतको भावनाविपरीत फैसला सुनाइएको दाबी गरेका छन् ।

रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालिन नेकपा माओवादी र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रामबहादुर थापा बादल, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण न्यौपाने, उपेन्द्रकेसरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने भएका छन् ।