काठमाडौं– नेपाली सेनामा रथीको बढुवा प्रक्रिया सुरु भएको छ । सेनामा रिक्त बलाध्यक्षरथी पदमा उपरथी शरद गिरीको नाम सिफारीस भएको छ । सेनामा रथीको दरबन्दी गत भदौ २४ देखी रिक्त रहेको थियो । रथी बढुवामा सिफारीस भएका गिरी सेनाको कमाण्ड एण्ड स्टाफ कलेजमा प्रमुख छन् । उनि उपरथीको वरियतामा तेस्रो नम्बरमा रहेका थिए । काठमाडौंपार्टीले सेनामा डेढ महिना वितिसक्दा समेत रथी बढुवा सुरु नभएको भन्दै पहिलो चोटी समाचार लेखेको थियो ।
प्रधानसेनापति पुर्णचन्द्र थापाले वरियतामा पहिलो नम्बरमा रहेका उपरथी अनुज कुमार वस्नेत र दोस्रो नम्बरमा रहेका उपरथी सुवेदीको बढुवा रोक्दै गिरीलाई रथी बढुवाका लागी सिफारीस गरेका हुन् ।
सैनिक सचिव सरोज प्रताप राणाले शुक्रवार सैनिक नियमावलीको नियम ३३ (क) बमोजिम गठित बढुवा समितिले उपरथी गिरीलाई रथी दर्जामा पदोन्नतीको लागी गरेको सिफारीस प्रधानसेनापतिबाट सदर भएको जनाएका छन ।
सैनिक सचिव राणाले निकालेको सुचनामा उक्त पदमा बढुवा सिफारीस भएकाले जानकारीको लागी १५ दिने सुचना प्रकाशित गरेको उल्लेख गरेका छन् ।
सैनिक स्रोतले दिएको जानकारीअनुसार उपरथी वस्नेतको शैक्षिक प्रमाणपत्र र भाषा परिक्षाको प्रमाणपत्रमा समस्या देखिएपछि सेनापतिले उनको बढुवा रोकेका हुन् । नेपाली सेनामा शैक्षिक प्रमाणपत्रको कारण देखाउंदै उपरथीको रथीमा बढुवा रोकिएको यो पहिलो घटना हो । यसअघि वस्नेतकै बहिनी ज्वांई उपरथी विनोज वस्नेतको पनि शैक्षिक प्रमाणपत्रको कारण देखाउंदै उमेर बाकीं हुंदा हुंदै उपरथीको म्याद थपिएको थिएन् ।
तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले उनको म्याद थप नगरेपछि उनि उपरथीबाटै अवकास भएका थिए । वस्नेतको म्याद थप भएको अवस्थामा उनि प्रधानसेनापतिका प्रवल दावेदार हुने अवस्था थियो । क्ष्ँत्रीकै पालामा सहायकरथी ज्ञानेन्द्रजंग रायामाझीको समेत उपरथीमा बढुवा रोकिएको थियो । तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाले रायमाझीलाई नियमविपरीत ५४ वर्ष उमेर हद क्रस हुंदा समेत एनडिसीका लागी चीन पठाएका थिए । पछि रायमाझीको समेत शैक्षिक प्रमाणपत्रमा समस्या भएको र नियमविपरीत एनडिसी कोर्सका लागी पठाएको भन्दै तत्कालिन प्रधानसेनापति क्ष्ँत्रीले उनलाई उपरथीमा बढुवा सिफारीस गरेका थिएनन् । तत्कालिन प्रधानसेनापति गौरवशमशेर राणाले अन्यायपुर्वक उपरथी प्रेमप्रकाश थापा मगरलाई उपरथीबाट बर्खास्त गरेका थिए ।
क्ष्ँत्रीपछिको प्रधानसेनापतिका स्वभाविक दावेदार मानिएका मगरलाई तत्कालिन सहायकरथी हेम खत्रीको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बोर्ड बैठकमा राखेको अभियोग लगाइएको थियो । मगर सहायकरथी खत्री एनडिसी कोर्सका लागी पाकिस्तान जांदा सैनिक सचिव थिए ।
तर, उक्त बोर्डको अध्यक्ष भने गौरवशमेर नै थिए । राणाले उपरथी वेनोजलाई सैनिक नेतृत्वको रुपमा अघि बढाउन खोजेका थिए । मगरलाई उपरथीबाट बर्खास्त गरिएपछि थापाको प्रधानसेनापति बन्ने बाटो खुलेको थियो ।
यदी थापाको रथीमा म्याद नभएको भए र वेनोजको उपरथीमा म्याद थप भएको अवस्थामा उनि नै प्रधानसेनापति हुने निश्चित थियो । थापाको तत्कालिन प्रधानसेनापति क्ष्ँत्रीले रथीमा म्याद थप गर्नु र वेनोज उपरथीबाटै घर गएपछि सेनामा प्रधानसेनापतिको रोलक्रम परिवर्तन भएको थियो । अहिले पनि कतिपयले रथी बढुवालाई यसै विषयसंग जोडेपनि त्यसमा सत्यता भने देखिदैन् ।
वस्नेतलाई राजिनामा गर्न वा सहज वर्हिगमनको लागी बाटो रोज्न सैनिक नेतृत्वले सन्देश दिंदा पनि उनले नमानेको स्रोतको दाबी छ । वस्नेतको शैक्षिक प्रमाणपत्रबारे रक्ष्ाँमन्त्रालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको छ । तर, वस्नेतले भने आफुलाई पुर्वाग्रह सांधेको भन्दै प्रधानसेनापतिको अनुमती लिएर उनले गुनासो रक्षामन्त्री ईश्वर पोखरेललाई गरिसकेका छन् । तर, सरकार उनको बारेमा निर्णय फेर्ने लाइनमा नरहेको रक्षामन्त्री निकट स्रोत बताउंछ । सेनापतिले बढुवा नगर्ने मनशाय बनाएलगत्तै राष्ट्रपति,प्रधानमन्त्री र रक्षामन्त्रीलाई पहिले नै कन्भिस गर्ने प्रचलन छ ।
वस्नेतलाई सैनिक नेतृत्वले राजिनामा दिन सन्देश दिएपनि उनि भने मंसिर २५ गतेसम्म नै आफु उपरथी पदमा बस्ने बताइरहेका छन् । सुरुमा उनि राजीनामा दिन समेत तयार भएको तर, पारिवारीक दबावमा उक्त निर्णय रोकिएको उनि निकट स्रोत बताउंछ ।
२०१८ मंसिर २५ मा जन्मेका वस्नेत २०३८ साल साउन १ गते नेपाली सेनामा अधिकृतका रुपमा भर्ना भएका थिए । उनी अहिलेको सैनिक ऐनमा भएको नियमअनुसार मंसिर २५ गतेसम्म सैनिक सेवामा वस्न पाउनेछन् । त्यसअघि नै विदामा वस्ने वा राजीनामा दिने विकल्प भने उनका लागी खुला नै छ ।
सेनामा सुवेदीभन्दा वरियतामा अघि वस्नेत र अर्का उपरथी शेखरसिंह वस्नेत थिए । उपरथी शेखरसिंहले उमेर हदका कारण अवकास पाइसकेका छन् । प्रधानसेनापति थापालाई आफ्ना नातेदार पर्ने उपरथी शेखरलाई रथीमा बढुवा गर्न वस्नेतमाथी षडयन्त्र गरेको आरोप लगाइएपनि उनले शेखरको अवकाससंगै त्यो अनुमान गलत सावित भइसकेको छ ।
जवकी थापाले चाहेको भए उपरथी अनुजलाई यसअघि नै कार्वाही गरेर शेखरलाई तीन तारेमा सिफारीस गर्न सक्थे । उनलाई शेखरलाई बढुवा गर्न परिवारकै सदस्यहरुबाट दबाव आएपनि त्यसको थापाले प्रतिवाद गर्दै आएका थिए । उनले सेनामा प्रणाली नमिच्ने बताएको स्रोतको दावी छ । कार्यरथी विभागका प्रमुख रहेका शेखर अवकास भएपछि प्रधानसेनापति थापाले उनको जिम्मेवारी समेत उपरथी सुवेदीलाई दिएका थिए । कतिपयले सेनामा रथीमा सुवेदीको बढुवा हुने अनुमान गरेपनि अन्तिममा उनलाई पनि पाखा लगाउंदै गिरीको बढुवा भएको हो । सुवेदीको पनि नागरिकतामा कैफियत देखिएको सैनिक स्रोतको दाबी छ ।
रथीमा बढुवा सिफारीस भएका गिरी उपत्यका पृतनाका पृतनापति थिए । उनी यसअघि सेनाको निकै महत्वपूर्ण मानिने निती निर्देशनालय र युद्धकार्य महानिर्देशनालयका महानिर्देशक थिए । हाल स्टाफ कलेजमा कार्यरत गिरीले त्यहा र उपत्यका पृतनामा निकै सुधार गरेको बताईन्छ । गिरी व्यवसायीक सैनिक अधिकृत भएकाले प्रधानसेनापतिले उनलाई बढुवा गरेको उनि निकट स्रोतको भनाई छ ।
वस्नेत र सुवेदीको रथीमा बढुवा नभएपछि उनि वरियतामा तेस्रो नम्बरमा थिए । त्यसपछि वरियतामा क्रमस प्रभुराम शर्मा, गौरव तण्डुल, समिर शाही र ईश्वर हमाल छन् । गिरीको रथीमा बढुवाभएसंगै उपरथी शर्माको प्रधानसेनापति वन्ने बाटो खुला भएको छ । अहिलेको अवस्थामा वस्नेत, सुवेदी वा गिरी जस्को रथीमा बढुवा भएको अवस्थामा समेत त्यसले भावी प्रधानसेनापतिको रोलक्रममा समेत कुनै असर पर्ने थिएन् ।
गिरी र सुवेदी मात्र होईन वस्नेत नै रथीमा बढुवा भएको अवस्थामा समेत भावी प्रधानसेनापतिको रोलक्रममा कुनै फरक पर्ने अवस्था देखिदैन् । किनभने आगामी २०७८ भदौ २४ सम्म अहिलेकै सेनापति थापा नै प्रधानसेनापतिका रुपमा कार्यभार सम्हाल्नेछन् । उनले अवकास पाएलगत्तै शर्मा वरियताका आधारमा प्रधानसेनापति वन्ने वाटो खुल्नेछ । सेनापतिले समेत भावी प्रधानसेनापतिको रुपमा शर्मालाई नै अघि बढाउन खोजेको स्रोतको दाबी छ ।
रथी बढुवामा सिफारीस भएका उपरथी गिरी १९ बेसिकका सैनिक अधिकृत हुन् । गिरीले यसअघि उपत्यका पृतनाको पृतनापतिको जिम्मेवारी सम्हालेका थिए । उनले भारतबाट एनडिसी गरेका छन् । उपरथी गिरी २०१९ असार ६ गते जन्मेका हुन् । उनी २०३६ साल चैत्र २९ मा नेपाली सेनामा सैनिक अधिकृतका रुपमा प्रवेश गरेका थिए ।
गिरी सेनाभित्र व्यावसायीक अधिकृतका रुपमा चिनिन्छन् । उनी आर्थीक रुपमा समेत विवादमा नआएका उच्च सैनिक अधिकारी हुन् । उनलाई यसअघिका प्रधानसेनापति राजेन्द्र क्ष्ँत्रीले समेत मन पराएका थिए । तर,प्रधानसेनापतिको अन्तिम कार्यकालतिर भने गिरीले क्षत्रीका अनावश्यक चांसोमा साथ नदिएपछि उनको सरुवा स्टाफ कलेजमा गरिएको थियो ।
सैनिक ऐनमा प्रधानसेनापतिको सिफारीसमा रथीको बढुवा हुने उल्लेख छ । सेनापतिले रथीको बढुवा प्रक्रिया सिफारीस गरेपछि मन्त्रिपरीषद बैठकले त्यसलाई अनुमोदन गर्ने वा नगर्ने अन्तिम निर्णय लिनेछ । तर,सेनाको बढुवा र सरुवा अहिलेसम्म सरकारले उल्टाएको उदाहरण कम भएकाले पनि सेनापतिको सिफारीस नै कतिपय अवस्थामा अन्तिम निर्णय हुने गरेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनापतिको रुपमा कार्यभार सम्हालेसंगै सेनामा थुप्रै सुधारका काम गरेका छन् । उनले गुटमा विश्वास गरेर काम गर्ने भन्दा प्रणालीको विकास गर्नेतर्फ ध्यान दिएको सेनाका एक उपरथी बताउंछन् ।
सेनापतिले सेनाको नक्कली प्रमाणपत्र, फास्ट ट्रयाक बढुवाका नाममा यसअघि सुरु गरिएको बढुवा पद्धती, शान्ती सेनामा हुने अनियमितता, भष्ट्राचार,आर्थीक अनियमितता र अपारदर्शीताका विरुद्ध कठोर कदम चाल्ने संकेत दिइसकेका छन् । सेनामा उनले त्यसको कार्यान्वयन गर्न समेत सुरुवात गरिसकेका छन् ।
पछिल्लो समय सेनाभित्र भनसुन,नातावाद र सिफारीसको बोलवाला भएपछि उनले सेनामा पद्धती बसाल्न आफुले जस्तोसुकै कदम चाल्ने सन्देश दिइसकेका छन् । सेनापतिले सेनामा सुधार गर्न नै सवै अधिकृतहरुको शैक्षिक प्रमाणपत्र र नागरिकताको विवरण माग गरेको सेनाका एक सहायकरथी बताउंछन् ।
‘चिफ साप कसैको कुरा सुन्नेभन्दा पनि प्रमाणमा विश्वास गर्नुहुन्छ,उहाले आरोप लगाएका भरमा धारणा बनाउनुहुन्न, प्रमाण हेरेर निर्णय गर्नुहुन्छ ।’ सेनाका एक उपरथीले भने ।
प्रधानसेनापतिले सेनामा उपहार लिन कडाई गर्नुका साथै भर्ना छनौटमा हुने अपारदर्शीताको समेत अन्त्यका लागी कडाईका साथ काम गरिरहेका छन् । उनले चिठठी पत्र पत्राचारका नाममा हुने पैसाको खर्च र लाग्ने समयको अन्त्य समेत गरेका छन् । सेनापतिले सेनामा इन्ट्रानेट सिस्टमको सुरुवात गरेका छन् । यसले गर्दा सेनाभित्रको आन्तरीक पत्राचार इन्टरनेट प्रयोग नगरी कम्युटरमार्फत नै गर्ने भएकाले त्यसमा पैसा र समयको बचत भएको छ । पछिल्लो समय लेखामा दुई तारे जर्नेल रहेका भुवन अधिकारीलाई समेत प्रधानसेनापतिले जिम्मेवारी विहिन बनाएका छन् ।
प्रधानसेनापति थापाका आफन्त पर्ने अधिकारी विवादित पृष्ठभुमि भएका सैनिक अधिकारी हुन् । उनको आर्थीक अधिकार समेत प्रधानसेनापतिले कटौती गरेको चर्चा सैनिक मुख्यालयमा छ । उपरथी अधिकारीलाई राजीनामा नरोजे कार्वाही गर्नेसम्मको तयारी भएको बुझिएको छ ।
किन रोकियो उपरथी बस्नेत र सुवेदीको बढुवा ?
सेनामा उच्च अधिकत बढुवा रोकिने विषय सामान्य आरोपले सम्वभ हुंदैन् । उपरथी वस्नेत सेनाका शक्तिशाली उपरथी हुन् । उनि यसअघि सेनामा जहिले शक्तिमा रहेका सैनिक अधिकारी मानिन्छन् । उपरथी वस्नेतले चीनबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका थिए । उनलाई तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले चीनमा एनडिसीका लागी पठाएका थिए ।
नेपालीमा स्टाफ कलेज गरेकालाई एनडिसीमा नपठाउने निति विपरीत वस्नेतलाई चीन पठाएकोमा सेनाभित्र विरोध भएको थियो । उनले एनडिसीमा जानको लागी पास गर्नुपर्ने आईएलटिएस (अंग्रेजी भाषा परिक्षा) समेत भारतको दार्जिलिङ्गबाट उर्तिण गरेका थिए । जवकी त्यही कोर्सका लागी जाने अन्य सैनिक अधिकृतले भने भाषा परिक्षा नेपालबाटै उर्तिण गरेका थिए ।
उपरथी बस्नेत सहायकरथीबाट उपरथीमा बढुवा भएपछि उनको म्याद थप्ने नथप्नेबारे त्यतिबेला चर्चा भएपनि अन्तिममा तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनको म्याद थप गरेका थिए । उनको म्याद थपमा तत्कालिन रक्षामन्त्री भिमसेन दास प्रधानको समेत हात रहेको थियो । उपरथीमा बढुवा भएर म्याद समेत थप भइसकेको अवस्थामा बस्नेतको रथीमा बढुवा रोक्नुलाई सेनामा कतिपयले पुर्वाग्रह भएको आरोप समेत लगाउने गरेका छन् ।
तर, प्रधानसेनापति थापाले डेढ महिनासम्म बढुवा रोक्नुको कारण भने सम्बद्ध सवैलाई बुझाइसकेको स्रोतको दाबी छ । थापाले आफुले शक्तिका भरमा सेटिङ्ग मिलाएर सधै जागिरमा टिक्ने प्रवृतिको अन्त्य गर्ने बताउने गरेका छन् । उनले आफु निकट वा टाढाको भन्ने आधारमा भन्दा काम र कार्यक्षमताको आधारमा जिम्मेवारी दिने बताउंदै आएका छन् । त्यस्तै अर्का उपरथी सुवेदी पनि नेपालीमा स्टाफ कलेज गरेका अधिकृत हुन ।
सुवेदी र वस्नेत दुवै जनालाई एनडिसी कोर्समा पठाउन तत्कालिन प्रधानसेनापति गौरव शम्शेर राणाले नियम नै संशोधन गरेर नेपालीमा स्टाफ कलेज गरेकालाई पनि पठाउने निर्णय गरेका थिए । सुवेदीको सहायरकथीबाट उपरथीमा बढुवा हुंदा समेत नागरिकता सच्याएको आरोप लागेको थियो ।
प्रतिक्रिया