उर्जामन्त्री पुन र मुख्यमन्त्री रावतबीच भेटवार्ता

उर्जामन्त्री पुन र मुख्यमन्त्री रावतबीच भेटवार्ता


काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन अनन्त र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालवावु रावतबीच भेटवार्ता भएको छ । जनकपुरस्थित मुख्यमन्त्री रावतको निवासमा भएको भेटवार्तामा कर्मचारी व्यवस्थापन र उर्जा,जलस्रोत सिंचाई मन्त्रालय मातहतको आयोजनाको विषयमा छलफल भएको थियो ।

त्यसका साथै भेटमा मुख्यमन्त्री रावतले भारतिय जनता पार्टीका नेता समेत रहेका उत्तर प्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथ विवाहपञ्चमीको अवसरमा जनकपुर आउन लागेको विषयमा जानकारी गराएका थिए । उनले त्यसको लागी प्रदेश सरकारले भ्रमणको सम्पूर्ण तयारी गरिसकेको बताए ।

भेटमा दुई नम्वर प्रदेशमा संचालित उर्जा र सिंचाईका आयोजनाहरुको वारेमा छलफल भएको थियो । मुख्यमन्त्री रावतले प्रदेशअन्र्तगतका कार्यक्रमहरुको विषयमा जानकारी गराउनुका सांथै केन्द्र सरकारले अघि बढाइरहेको सुनकोशी कमला डाइभर्सनले सप्तरी,सिराहालगायतका जिल्लाहरु सिंचाईवाट लाभान्वीत हुने बताए ।

जवाफमा उर्जामन्त्री पुनले सुनकोशी कमला डाइभर्सन मन्त्रालयको उच्च प्राथमिकतामा रहेको भन्दै यसले दुई नम्बर प्रदेशको विकासमा ठुलो योगदान पुर्याउने दावी गर्नुभयो ।