काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा अवस्था बुझ्न नयाँदिल्लीस्थित नेपाली दूतावासका २ वरिष्ठ अधिकारी उडिसा पुगिसकेका जनाएकी छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै मन्त्री राणाले विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई ‘फलोअप’ गरिरहेको बताएकी छन् ।
‘नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँदिल्लीबाट नेपाल प्रहरीका २ जना वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु ।’
घटनाका विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेको उनले बताइन् । ‘हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुव्र्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचनामार्फत गराएको छ,’ उनले भनेकी छन्, ‘परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।’
कीट विश्वविद्यालयले घटनाबाट दुःखी हुँदै नेपाली विद्यार्थी र नेपाली जनतासँग क्षमायाचना गरेको छ ।
प्रतिक्रिया