उडिसाका विश्वविद्यालयका लागि ‘एनओसी’ स्थगित गर्न सकिने शिक्षा मन्त्रालयको चेतावनी

उडिसाका विश्वविद्यालयका लागि ‘एनओसी’ स्थगित गर्न सकिने शिक्षा मन्त्रालयको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको उडिसास्थित कीट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उडिसा राज्यका विश्वविद्यालय र शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने चेतावनी दिएको छ ।

मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिए एनओसी स्थगित गर्न सकिने चेतावनी दिएका छन् ।

मन्त्रालयले विदेशी विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका शैक्षिक समस्या समाधान गर्न पूर्वयोजनासहित मन्त्रालयको भूमिका प्रभावकारी तुल्याउन मन्त्रालयका कर्मचारी राजु श्रेष्ठ, देवीराम आचार्य र सपना खड्का सम्मिलित सहायक कक्ष स्थापना गरेको छ ।

मन्त्रालयले भनेको छ, ‘विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियम पालना गरी नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाई अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताको विपरीत अध्ययनरत रहिरहेको अवस्थामा विश्वविद्यालय प्रशासनबाट विद्यार्थीहरूप्रति भएको व्यवहार निन्दनीय छ ।’