काठमाण्डु – भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कीट विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा छानबिन गर्न उडिसा राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
सूचना तथा जनसम्पर्क विभागका निर्देशकले विज्ञप्ति जारी गर्दै राज्य सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको र समितिको निष्कर्षअनुसार कानूनी कारबाही अगाडि बढाइने जानकारी दिए ।
छानबिन समितिमा गृह विभागका अतिरिक्त मुख्य सचिव, महिला तथा बाल विकास विभागका प्रमुख सचिव र उच्च शिक्षा विभागका आयुक्त सहसचिव सदस्यहरू छन् ।
उडिसा सरकारले नेपाली विद्यार्थीमाथि गरिएको दमनलाई दुर्भाग्यपूर्ण रहेको बताउँदै त्यस विषयमा तुरुन्तै एक्सन लिएको जनाएको छ । कीटका सुरक्षा गार्डलाई पक्राउ गर्न र गल्ती गर्ने कर्मचारीहरूलाई निलम्बन गर्न निर्देशन दिइएको विभागले जनाएको छ ।
गल्ती गर्ने जोकोहीलाई कानूनी दायरामा ल्याउने प्रतिबद्धता उडिसा सरकारले जनाएको छ । ‘स्थानीय व्यक्तिहरूद्वारा विद्यार्थीविरुद्ध बल प्रयोग लगायतका दुर्व्यवहारका रिपोर्टहरूको अनुसन्धान भइरहेको छ । गल्ती गर्नेहरूलाई कानून अनुसार जवाफदेही बनाइनेछ । ओडिशा सरकार प्रत्येक विद्यार्थीको सुरक्षा, मर्यादा र कल्याण सुनिश्चित गर्न प्रतिबद्ध छ । उडिसा सरकारले छिटो र निष्पक्ष रूपमा न्याय प्रदान गर्न सबै आवश्यक कदम चाल्नेछ,’ विज्ञप्तिमा छ ।
प्रतिक्रिया