काठमाण्डु– हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी)ले आफूहरूले कुनै पनि धर्मको विरोध नगरेको बताएका छन्।
बिहीबार सामाजिक सञ्जारमा भिडियो पोस्ट गर्दै उनीहरूले कुनै पनि धर्मको विरोध नगरेको र कुनै धर्ममा जान नउकासेको स्पष्ट पारेका छन्।
केहि दिन अघिबाट यूएसएडको पैसा खाएर हिन्दु धर्मको विरोध गरे भनेर अनर्गल प्रचार गरिएको भन्दै चर्चा चुलिएपछि उनीहरुले संयुक्त रुपमा स्पष्टीकरण दिएका हुन् ।
भिडिओ सन्देशमा हरिवंशले भनेका छन् ‘कहीँ पनि सनातन हिन्दु धर्म, बुद्ध धर्म र अरू कुनै पनि धर्मको विरोध हामीले गरेका छैनौँ। र, अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौँ। यो अनर्गल प्रचार हो’,, ‘हामीले ०५२ सालमा यो पञ्चायत व्यवस्थाको सराद्धे भन्ने एउटा कार्यक्रम गर्यौँ। त्यसमा एउटा पण्डितको पात्रको प्रवृत्तिको व्यंग्य गरेका छौँ। र, पण्डित भन्दैमा भगवान् हुँदैन। म पनि पण्डितकै छोरा हुँ। र, व्यंग्य भनेको नेतालाई पनि गर्न पाइन्छ। पण्डितलाई पनि गर्न पाइन्छ।’
यस्तो छ मह जोडीको प्रष्टीकरण
हिजोआज सामाजिक सञ्जालहरूमा मह जोडीले यूएसएडको पैसा लिएर धर्मविरोधी कामहरू गरे भनेर अनर्गल प्रचार भइरहेको छ । यसले हाम्रो चित्त दुखेको छ । हामी सबैलाई आफ्नो हितैषी सम्झिन्छौँ । हितैषीहरूबाटै यस्तो आरोप सुन्नुपर्दा चित्त दुखेको छ ।
संसारमा राम्रा कुरा पनि छन् नराम्रा पनि छन् । हामीले राम्रा मात्रै छानेर काम गर्दै आएका छौँ । कुष्ठरोग, क्षयरोग, खोपका कुराहरू यी अधर्मका विषयहरू होइनन् । हाम्रो टेलिफिल्महरु हेरेर जाँच्नु भए हुन्छ । त्यसमा केही पनि नचाहिने कुरा छैनन् ।
हामी अहले दुई फरक फरक चलचित्रको छायांकनमा छौँ । एउटा मदन दाइले खेल्नुभएको छ र एउटा मैले खेलेको छु । यो अनर्गल प्रचार आउनुभन्दा अगाडि नै हामीले भगवनको मन्दिरहरूमा पूजाआजा गरेर फिल्मको शुभारम्भ गरेका थियौँ ।
यूएसएडको कुरा आउँदा हामीले मदनबहादुर हरिबहादुर, आमा, असल लोग्ने र विभिन्न खोपका सचेतनामूलक कार्यक्रम बनाएका छौँ । ती सबै कार्यक्रम युट्युबमा किताबजस्तै छर्लङ्ग राखेका छौँ । त्यो पल्टाएर हेर्नुभए हुन्छ । त्यहाँ कहीँ पनि हिन्दु, बौद्ध वा कुनै धर्मको विरोध गरेका छैनौँ । कुनै धर्मको प्रचार पनि गरेका छैनौँ ।
२०५२ सालमा हामीले ‘पञ्चायतको सराद्धे’ भन्ने कार्यक्रममा पण्डित पात्रमाथि व्यंग्य गरेका छौँ । पण्डित भन्दैमा भगवान् हुँदैन । म पनि पण्डितको छोरा हुँ । व्यंग्य जसलाई पनि गर्न पाइन्छ । नेतालाई, पुलिसलाई, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ । त्यो टेलिचलचित्रको एउटा टुक्रा राखेर हामीले सनातन धर्मको विरोध गर्यौँ भन्नु कपोलकल्पित हो । हामी आफ्नो काममा निरन्तर लागिरहन्छौँ । यस्ता कुराहरुले हतोत्साहित हुँदैनौँ । नेपाली जनतालाई यस्ता भ्रामक कुराहरूमा विश्वास नगर्न हार्दिक अनुरोध गर्दछौँ ।
प्रतिक्रिया