पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमान्दार भएर देशका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।
कास्कीको ढुङ्गेपाटनमा बिहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आत्मविश्वास र इमान्दारीपूर्वक समाजका लागि सकारात्मक काममा आफूले प्राप्त गरेको ज्ञानको उपयोग गर्नुपर्ने बताए ।
‘इमान्दारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईंहरूले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ कुलपति ओलीले भने, ‘तपाईंहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वाेच्चताको गर्व तपाईंहरूमा होस् ।’
उनले सानो देशमा छु भन्ने हिनताबोधी भावना नराख्न आग्रह गर्दै कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो नहुने दोहोर्याए । ‘हात्ती देख्ने बित्तिकै भागेमा माउते हुन सकिँदैन । हात्तीलाई तालिम दिएर माउते हुने कोशिस गर्नुस् । साहसी हुनुस्, दुस्साहसी नहुनुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रूपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस्, सरकार विश्वविद्यालयको साथमा छ ।’
समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी ७ हजार ८७२ विद्यार्थीलाई दीक्षित गराए । उनले कुलपति पदकबाट सर्वाेत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत पनि गरेका छन् ।
प्रतिक्रिया