एलन मस्कको उर्दी-कामको विवरण पठाउनू, नत्र घर जाउ

एलन मस्कको उर्दी-कामको विवरण पठाउनू, नत्र घर जाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा सरकारी दक्षता विभाग (डीओजीई) को नेतृत्व गरिरहेका अर्बपति एलन मस्कले सरकारी कर्मचारीहरू ठिक ढंगले काम गर्न निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल एक्समा घोषणा गर्दै मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सबै संघीय कर्मचारीलाई गत हप्ताको कामको प्रगति विवरण बुझाउन भनेका छन् । प्रगति विवरण बुझाउन नसक्ने कर्मचारीलाई उनले राजीनामा दिन पनि भनेका छन् ।

अमेरिकी सरकारी कर्मचारीहरूलाई शनिबार मस्कले ईमेलमार्फत् गत साता गरेका कामको प्रगति विवरण पठाउन नत्र राजीनामा दिन सूचना जारी गरेका हुन् । मस्कले यो पनि भनेको छन्, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल हुनुभयो भने त्यसलाई तपाईंको राजीनामा मानिनेछ ।’

यसअघि मस्कले एक्समा लेखेका थिए, ‘कर्मचारीहरूले छिट्टै इमेल पाउनेछन्, यसको उद्देश्य उनीहरूले गत साता के कस्ता काम पूरा गरेका छन् भन्ने थाहा पाउनु हो ।’

मस्को घोषणा पछि कर्मचारीहरूमा अन्योल छाएको छ । ट्रम्प प्रशासनले मस्कलाई सरकारी खर्च घटाउने जिम्मेवारी दिएको छ । हालै उनले रक्षा विभागलाई आगामी हप्तादेखि कर्मचारी संख्यामा पाँच प्रतिशत कटौती गर्न निर्देशन दिएका छन् ।

ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेपछि धेरै कर्मचारीलाई बर्खास्त गर्न थालिसकेको छ । राष्ट्रपति ट्रम्पले मस्कको कामको प्रशंसा गर्दै उनलाई अझ आक्रामक हुन आग्रह गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन, ‘एलनले राम्रो काम गरिरहेका छन्, तर म उनलाई अझ आक्रामक देख्न चाहन्छु । हामीले देश बचाउनु छ र यसलाई पहिलेभन्दा राम्रो बनाउनु छ ।’

यसअघि जनवरीमा ट्रम्प प्रशासनले २० लाखभन्दा बढी कर्मचारीलाई आठ महिनाको तलबसहित स्वैच्छिक राजीनामा दिने प्रस्ताव पठाएको थियो । यो कदमलाई चार संघ र २० डेमोक्रेट वकिलले अदालतमा चुनौती दिए। फेब्रुअरी ६ मा एक संघीय न्यायाधीशले उक्त आदेशको कार्यान्वयनमा रोक लगाएका छन् ।