काठमाण्डु – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतले छिट्टै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणको निम्तो पठाउने विश्वास व्यक्त गरेकी छन् ।
भारतीय सञ्चारमाध्यम द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण २०८२ असार १५ (जुन २०२५) भित्रै हुने दाबी गरिन् ।
आगामी अप्रिलमा बैंककमा आयोजना हुने बिमस्टेक बैठकमा प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिइएको उनले बताइन् । बैठकमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता हुने उनको विश्वास छ ।
यसअघि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री ओलीको भारत भ्रमण गराउन प्रयास गरेकी थिइन् । भ्रमणकै तयारीका लागि नयाँदिल्ली पुगेकी राणालाई भारतीय पक्षले भेट्न समय नै नदिएपछि उनी रित्तो हात फर्किएकी थिइन् ।
द हिन्दूले लेखेको छ, ‘परराष्ट्रमन्त्री राणाले २०२४ जुलाईमा ओली सरकार सत्तामा आएदेखि २ पटक दिल्ली भ्रमण गरिसकेकी छन्, भारत र नेपालको सम्बन्धमा केही तनाव देखिएको संकेत दिन्छ । भारतीय सरकारको परम्परागत ढाँचाभन्दा ढिलो गरी नेपाली प्रधानमन्त्रीलाई निमन्त्रणा दिनु अस्वाभाविक मानिएको छ ।’
भारतबाट निमन्त्रणामा ढिलाइ हुने संकेत पाएपछि प्रधानमन्त्री ओली २०२४ नोभेम्बरमा बेइजिङ भ्रमणमा गएका हिन्दूले लेखेको छ ।
प्रतिक्रिया