काठमाण्डु- संयुक्त राष्ट्रसंघले युक्रेनी भूभागबाट रुसको तत्काल फिर्तालाई समर्थन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत परेको हो । ६५ देश तटस्थ बसे ।
नेपालले प्रस्तावको समर्थन गरेको छ । नेपालको समर्थनले युक्रेनको सार्वभौमिकता र शान्तिको पक्षमा रहेको प्रतिबद्धता देखाएको छ । विगतमा पनि नेपालले युक्रेन सम्बन्धी प्रस्तावहरूमा समर्थन जनाउँदै आएको थियो ।
संघले सोमबार ‘युक्रेनमा व्यापक, न्यायपूर्ण र दिगो शान्तिको विकास’ शीर्षकको प्रस्ताव पारित गरेको हो । यो प्रस्तावले रुसी आक्रमणको निन्दा गर्दै युक्रेनबाट रुसी सेना फिर्ता गर्नुका साथै शान्तिको आह्वान पनि गरेको छ ।
यो मतदानले विश्व राजनीतिमा गहिरो विभाजन देखाएको छ । जसले प्रमुख शक्तिहरूको भूमिका र तटस्थ मुलुकहरूको रणनीतिलाई उजागर गरेको छ ।
अमेरिकाले पहिलो पटक युक्रेनविरुद्ध रुस, उत्तर कोरिया र बेलारुससहित १८ देशको पक्षमा मतदान गरेको छ । ट्रम्प प्रशासनको यो कदमले युक्रेनको समर्थनमा रहेको पुरानो नीतिबाट पछि हटेर रुससँग नजिक भएको संकेत गरेको छ ।
यसले यूरोपेली सहयोगीहरूसँग तनाव बढाएको छ भने विश्व राजनीतिमा अमेरिकाको नेतृत्वमाथि प्रश्न उठाएको छ । सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा यो निर्णयलाई लज्जास्पद र विश्व शान्तिको लागि खतरा भनी आलोचना गरिएको छ ।
चीन र भारत तटस्थ
चीन र भारतले मतदानमा भाग लिएनन् । जसले रुससँगको सम्बन्ध र पश्चिमसँग सन्तुलन कायम राख्ने उनीहरूको रणनीति झल्काएको छ । दुवै देशले रुसी आक्रमणको खुला निन्दा गर्न अस्वीकार गरेका छन् ।
प्रस्तावलाई जर्मनी, बेलायत, फ्रान्सजस्ता यूरोपेली देशहरूले समर्थन गर्दा रुस र उसका सहयोगीले विपक्षमा मतदान गरेका छन् । यसमा अमेरिकाको अप्रत्याशित सहभागिता विशेष चासोको विषय बनेको छ । यस प्रस्तावलाई लिएर अफ्रिकासहित धेरै विकासशील देशहरू तटस्थ रहेका छन् ।
प्रतिक्रिया