काठमाण्डु – संसद् अधिवेशन चालू नभएको अवस्थामा ल्याइएका अध्यादेशका कारण प्रधानमन्त्री केपी शर्मा ओली संकटमा परेका छन् ।
संकट समाधानका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । भोलि शुक्रबार साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको छ ।
एमाले अध्यक्ष समेत रहेका ओली नेतृत्वको सरकार बनेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले १० सदस्यीय संयन्त्र बनाएका थिए । सत्ता गठबन्धन र सरकार सञ्चालनबारे विशेष निर्णय गर्नुपर्दा संयन्त्रको बैठक बस्ने गरेको छ ।
संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।
कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा संयन्त्रमा छन् । अध्यादेश पारित गर्न राष्ट्रिय सभामा बहुमत पुग्न नसक्ने देखिएका कारण १ महिनादेखि अध्यादेश अगाडि बढ्न सकेको छैन ।
प्रतिक्रिया