काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि जापानी राजदूत मायदा तोरुले शिष्टाचार भेट गरेका छन् ।
नवनियुक्त राजदूत मायदाले मंगलबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् ।
सो अवसरमा २ देशबीचको सम्बन्ध, आपसी हित र सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष दाहालले नवनियुक्त राजदूत मायदालाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै नेपाल बसाइ सुखद, सिर्जनशील र सफल रहने विश्वास व्यक्त गरे ।
नेपाल–जापान सम्बन्ध निकै पुरानो र घनिष्ट रहेको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा २ देशबीचको सम्बन्ध थप मजबुत र प्रगाढ हुने र त्यसमा राजदूत मायदाको भूमिका महत्त्वपूर्ण रहने बताए ।
जापान सरकारको तर्फबाट नेपालले बहुपक्षीय सहायता एवं प्राविधिक सहयोग प्राप्त गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले पूर्वाधार विकास, कृषि, स्वास्थ्य, औद्योगिक क्षेत्र, जलविद्युत्, संस्कृति तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा नेपाल लाभान्वित भएको बताए ।
काठमाण्डु–नागढुङ्गा सुरुङ मार्ग निर्माणसँगै नेपाल सुरुङ प्रविधितर्फ अघि बढेको उल्लेख गर्दै अध्यक्ष दाहालले सुरुङ मार्ग लगायत अन्य सडक पूर्वाधार निर्माणमा जापानको सीप, प्रविधि र सहयोग प्राप्त भई गुणस्तरिय काम भइरहेकोमा खुसी व्यक्त गरे ।
नेपालको संघीय संसद्मा नेपाल–जापान संसदीय मैत्री समूह गठन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले संसदीय मैत्री समूहले २ देशबीचको संसदीय सम्बन्ध, अनुभव आदानप्रदान र भ्रमण आदानप्रदान गर्न सहज हुने बताए ।
उच्च शिक्षा र जापानी भाषा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी जापानमा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले अध्ययन, रोजगारी र व्यापार–व्यवसायको सिलसिलामा झण्डै २ लाख नेपालीहरू जापानमा रहेको बताए ।
भूकम्प, कोभिड महामारी लगायत अप्ठ्यारो परिस्थितिमा जापानले गरेको सहयोग स्मरणीय रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपालको आर्थिक समृद्धि र विकासका लागि जापानी लगानीकर्ताहरूलाई आउन प्रोत्साहित गरिदिन राजदूत मायदालाई अनुरोध गरे ।
जापानी पर्यटकहरूलाई नेपाल आउन प्रेरित गरिदिन आग्रह गर्दै अध्यक्ष दाहालले धार्मिक, सांस्कृतिक उद्देश्यसहित बुद्ध जन्मभूमि लुम्बिनीमा आउने जापानी पर्यटकहरूले २ देशका जनताबीचको सम्बन्धलाई विस्तार गरिरहेको बताए ।
हाल काठमाण्डु–जापान हवाइ उडान भएको उल्लेख गर्दै अध्यक्ष दाहालले पोखरा र लुम्बिनीमा पनि जापानी एयरलाइन्सले सिधा उडान सुरु गर्न सके पर्यटकहरूको आवागमनमा वृद्धि विश्वास व्यक्त गरे ।
सो अवसरमा राजदूतले मायदा शिष्टाचार भेटका लागि धन्यवाद व्यक्त गर्दै आफूले जापान–नेपाल द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउन निरन्तर लाग्ने बताए । राजदूत तोरुले नेपाल र जापानबीच आगामी वर्ष सन् २०२६ मा कूटनीतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै आगामी दिनमा पनि २ देशबीचमा सम्बन्ध झन् प्रगाढ हुँदै जाने बताए ।
प्रतिक्रिया