काठमाण्डु- परराष्ट्रमन्त्री आरजु राणा देउवा चैत पहिलो हप्ता भारत भ्रमणमा जाने भएकी छिन् ।
राजधानी नयाँदिल्लीमा हुने १० औं रायसिना संवादमा भाग लिन मन्त्री राणा ३ दिने भ्रमणका लागि भारत जान लागेकी हुन । रायसिना संवाद चैत ४ देखि ६ गतेसम्म हुँदैछ ।
रायसिना संवाद भूराजनीति र भू–अर्थशास्त्रमा भारतको प्रमुख सम्मेलन हो । हरेक वर्ष राजनीति, व्यवसाय, मिडिया र नागरिक समाजका नेताहरू विश्वको अवस्थाबारे छलफल गर्न र समसामयिक मामिलाबारे विस्तृत दायरामा सहयोगका अवसरहरू खोजी गर्न नयाँ दिल्लीमा भेला हुन्छन् ।
भारत भ्रमणका क्रममा मन्त्री राणाले संवाद कार्यक्रमको सत्रमा भाग लिनुका साथै भारत सरकारका उच्चस्तरीय अधिकारीहरू र केही विदेशी सहभागीहरूलाई पनि भेट्ने कार्यक्रम छ ।
गत वर्ष भएको रायसिना संवादमा तत्कालीन परराष्ट्र मन्त्री एनपी साउदले भाग लिएका थिए । सरकारले संवादका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई पठाउने योजना बनाएको थियो । तर पौडेल आगामी आर्थिक वर्षको बजेट तयारीमा संलग्न हुनुपरेकोले परराष्ट्रमन्त्री राणा सहभागी हुन लागेकी हुन् ।
गत असारमा मन्त्री बनेपछि राणाको यो तेस्रो भारत भ्रमण हुनेछ । यसअघि अगस्टमा उनी भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्लीको भ्रमण गरेकी थिइन् । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, समकक्षी जयशंकर र अन्य वरिष्ठ भारतीय नेता तथा अधिकारीहरूसँग भेटवार्ता भएको थियो ।
त्यसपछि उनी डिसेम्बरमा स्वास्थ्य जाँचका लागि दोस्रो पटक नयाँ दिल्ली गएकी थिइन् । यद्यपि उनले त्यो भ्रमणको क्रममा कुनै आधिकारिक भेटघाट गरिनन् । तर केही कार्यक्रममा भाग लिइन् ।
मन्त्री राण निकट स्रोतका अनुसार रायसीना संवादमा भाग लिनुअघि परराष्ट्रमन्त्री राणा स्वास्थ्य परीक्षणका लागि फागुन २६ मा नै नयाँ दिल्ली जाने तयारीमा छिन् । परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार उनी आफ्नो अर्को चरणको फलोअप उपचारका लागि नयाँ दिल्ली जानुपर्ने भएकोले व्यक्तिगत भ्रमणमा सम्भवतः फागुन २६ मा नयाँ दिल्ली जाने छिन् ।
‘यदि उनको स्वास्थ्य परीक्षण चाँडै पूरा भयो भने उनी काठमाडौं फर्कनेछिन् र रायसीना संवादको लागि फेरि दिल्ली जानेछिन् । तर स्वास्थ्य परीक्षण ढिलो भयो भने, उनी त्यहीं बस्नेछिन् र संवादमा भाग लिएर फर्कनेछिन्’, ती अधिकारीले भने । मन्त्री राणा भारतको झारखण्डमा तीर्थयात्रा गर्ने योजना पनि बनाएकी छिन ।
प्रतिक्रिया