सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदीलाई बोलाउने तयारी

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदीलाई बोलाउने तयारी

परराष्ट्रमन्त्री राणाले मागिन् नरेन्द्र मोदीसँग भेट्ने समय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-परराष्ट्रमन्त्री आरजु देउवाले सगरमाथा संवाद कार्यक्रममा निम्तो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय माग गरेकी छिन् ।

नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटघाटका लागि समय मिलाई दिन भारतका विदेश सचिव विक्रम मिश्रीलाई औपचारिक आग्रह गरेका छन् ।

‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा सरकारले सरकारले जेठ २ देखि ४ गतेसम्म ‘सगरमाथा संवाद’ को आयोजना गर्दैछ ।

संवाद कार्यक्रममा लागि छिमेकी भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ । सगरमाथा संवादमा भारतका प्रधानमन्त्री मोदी र चीनका प्रधानमन्त्री ली छ्याङलाई आमन्त्रण गरिने योजना सरकारको छ । भारत र चीनले साझा निष्कर्ष ननिकाल्दासम्म हिमालय क्षेत्रको जलवायु संकट समाधानमा उल्लेख्य प्रगति कठिन हुने भन्दै सरकारले मोदी र लीसँग एकैसाथ छलफल गर्न लागेको हो ।

राजदूत शर्माले मंगलबार भारतीय विदेश सचिव मिश्रीसँग उनकै कार्यकक्षमा भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय सहयोगबारे छलफल भएको थियो ।

मन्त्री राणा चैत पहिलो हप्ता नयाँ दिल्लीमा हुने रायसिना संवादमा भाग लिन जाँदै छिन् । चैत ४ देखि ६ गतेसम्म हुने संवादको उद्घाटन प्रधानमन्त्री मोदीले गर्नेछन् ।

उक्त भ्रमणको क्रममा मन्त्री राणाले संवाद कार्यक्रमको सत्रमा भाग लिनुका साथै भारत सरकारका उच्चस्तरीय अधिकारीहरू र केही विदेशी सहभागीहरूलाई पनि भेट्ने कार्यक्रम छ । सोही अवसरमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटघाटको समय मिलाउन राजदूत शर्माले विदेश सचिव मिश्रीलाई आग्रह गरेका हुन् ।

सो भेटमा मन्त्री राणाले प्रधानमन्त्री मोदीलाई सगरमाथा संवादको कार्यक्रमका लागि आमन्त्रण गर्नेछिन् ।

यससँगै आगामी अप्रिल २ देखि ४ सम्म थाइल्याण्डको राजधानी बैंककमा हुने विमस्टेक सम्मेलनमा पनि प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ताको लागि पनि मन्त्री राणाले आग्रह गर्नेछिन् । विमस्टेक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाउने छन् ।