राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको प्रचण्डको दाबी

राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको प्रचण्डको दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भुटानी शरणार्थी प्रकरणका दोषीलाई जोगाएर सरकारले जनतालाई भड्काउने काम गरेको बताएका छन्।

मंगलबारको संसद बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका उनले विचौलियाले सरकार चलाएको आरोप लगाए। उनले सत्तामा रहेकाको कुशासनले लोकतन्त्रलाई चुनौती दिएको आरोप लगाए।

‘समिति बैठक नाटक, सत्ताको ड्राइभिङ सिटमै विचौलिया छन्। उसको शक्तिले इमान्दार व्यवसायीलाई अपमान गरेको छ,’ उनले भने, ‘आज हामी सबै जनताको सघिन निगरानीमा छौँ। जनचाहनालाई उपेक्षा गर्नुभयो। गंगा नदीमा नक्कली भुटानी शरणार्थीमा धुनुभयो। तपाईँहरु प्रतिको आक्रोश आज व्यवस्था विरोधी गतिविधिमा पुग्यो।’

नेपालमा प्रतिक्रान्तीको तरबार चलाउन खोजिएको समेत बताए । ‘इतिहासका विभिन्न कालखण्डका ती गौरवपूर्ण बलिदानलाई आज हामी सबैले अझ विवेक र कृतज्ञताका साथ स्मरण गर्नुपर्ने भएको छ । किनकि त्यो सहादतबाट प्राप्त जनताका उपलब्धिमाथि अहिले प्रतिगमन र प्रतिक्रान्तिको तरबार चलाउने सपना देखिँदैछ,’ उनले भने ।

प्रचण्डले राजावादीहरूको चहलपहलका पछाडि देशभित्र र बाहिरका चलखेल मिसिएको दाबी गरेका छन् । वर्षौंसम्म बन्द कोठामा समेत राजतन्त्र पुनस्थापनाको सपना देख्न डराएकाहरु आज सडकमै ओर्लिएको उनले बताए ।

‘सडकबाटै राजतन्त्र पुनस्थापनाको चुनौती दिन थालेका छन् । राजावादीको यो चलहपहलका पछाडि संगठित प्रयास छ भन्ने कुरा हामीलाई थाहा छ । यसमा देशभित्र र बाहिरका चलखेल पनि मिसिएका छन्,’ प्रचण्डले भने ।

‘तर, यस खालका चलखेल आजमात्रै भएका होइनन् । नेपालमा यस्ता चलखेल हिजो पनि थिए, अस्ति पनि थिए । अहिले अचानक वृद्धि किन भयो प्रश्न यहाँ छ,’ प्रचण्डले भने, ‘पछिल्ला ८ महिनामा सत्तामा रहेका पार्टीले प्रदर्शन गरेका शासकीय शैली र त्यसबाट उत्पन्न असन्तोष नै यसको मूल कारण हो भन्ने बुझ्न अब कठिनाइ छैन ।’