छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा मोदीलाई झट्का

छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा मोदीलाई झट्का


राजस्थान – पांच राज्यमा विधान सभा चुनावले भारतीय जनता पार्टी भाजपालाई झड्का लागेको छ । जसमध्ये राजस्थान, मध्यप्रदेश र छत्तीसगढको मतगणनामा कांग्रेस अगाडि देखिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय पार्टीले अग्रता लिएको छ । मध्यप्रदेशमा कांग्रेस र भाजपाको कडा प्रतिस्पर्धा देखिएको छ । तर, गुमाउनेमा भाजपा नै पर्नेछ ।

२३० सिटको विधानसभा भएको यहाँ कांग्रेसले १०९ सिटमा अग्रता लिएको छ भने भाजपा १०६ सिटमा अगाडि छ । यो अग्रता कायम रहृयो भने कांग्रेसलाई ठूलो सफलता हुनेछ । २०१३ को चुनावमा कांग्रेस मात्र ५८ सिटमा विजयी भएको थियो । १६५ सिट जितेको भाजपाले सरकार चलाएको थियो ।

राजस्थानमा पनि कांग्रेस अगाडि छ । २०० सिट मध्ये ९५ सिटमा कांग्रेसले अग्रता लिएको छ भने भाजपा ७६ सिटमा अगाडि छ । २०१३ मा कांग्रेस मात्र २१ सिटमा थियो । भारतीय जनता पार्टीले १६३ सिट जितेर सरकार चलाएको थियो । छत्तीसगढमा पनि कांग्रेस अगाडि छ । विधानसभाको ९० सिट मध्ये ५० सिटमा कांग्रेसले अग्रता लिएको छ । भाजपा मात्र २२ सिटमा अगाडि छ । यहाँ २०१३ मा भाजपाले ४९ सिट जितेको थियो भने कांग्रेस ३९ सिटमा थियो ।

तेलंगनामा सत्तारुढ पार्टी टीआरएसको ठूलो अग्रता छ । २००१ मा गठन भएको क्षेत्रीय पार्टी टीआरएसले ८१ सिटमा अग्रता लिएको छ भने कांग्रेस १९ र भाजपा मात्र एक सिटमा अगाडि छ । २०१४ को चुनावमा टीआरएसले ६३ सिट जितेको थियो भने कांग्रेसले ३७ र भाजपाले ५ सिट जितेको थियो । यहाँ भने कांग्रेसले अघिल्लो पटकको तुलनामा यो पटक थप सिट गुमाउने देखिएको छ । यहाँ ११९ सदस्यीय विधानसभा छ ।

मिजोरममा कांग्रेसले सरकार गुमाउने भएको छ । अब त्यहाँ क्षेत्रीय पार्टी एमएनएफले सरकार बनाउने देखिएको छ । विधानसभामको ४० सिट मध्ये एमएनएफले २८ सिटमा अग्रता लिएको छ । २०१३ को चुनावमा उसले मात्र ५ सिट जितेको थियो । त्यसबेला ३४ सिट जितेको कांग्रेस अहिले मात्र ७ सिटमा अगाडि छ । विजेपी एक सिटमा अगाडि छ ।