काठमाण्डु- सरकार पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजिवन सुविधा दिन कानुन बनाउन लागेकोमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले टिप्पणी गरेका छन् ।
कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा ‘विनाश काले विपरीत बुद्धि’ भन्दै लेखेका छन्, ‘सरकार कुशासनको दुश्चक्रमा परेको भन्दै नागरिकको बढ्दो आक्रोश, सत्तारुढ पार्टी भित्र नै सरकारको कामको तीव्र विरोध र गलत तत्त्वहरूले सडक तताइरहेको संवेदनशील अवस्थामा अर्को दुष्क्रमको प्रयास पूर्व विशिष्टलाई आजिवन सविधा हो ।’
कोइरालाले यस्ता कामले व्यवस्था र पार्टीको हित नगर्ने भन्दै यस्ता काम अघि नबढाउन र दिइएको सुविधा घटाउन आग्रह गरेका छन् ।
सरकारले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रिय सभाका पूर्वअध्यक्षलाई आजीवन मासिक भत्ता, घर भाडा÷घर मर्मत खर्च, सवारीसाधन, सचिवालयमा कर्मचारी र सहयोगी राख्नेसहितका आजीवन सुविधा दिने गरी कानुनको मस्यौदा बनाउन लागेको छ ।
पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयक तर्जुमाका लागि गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्मा प्रस्ताव नै लगेका छन् ।

प्रतिक्रिया