मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत १८ गते हुने

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन चैत १८ गते हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन १८ चैतमा हुने भएको छ । निर्वाचनका लागि विश्वविद्यालयले सह–प्राध्यापक दीपेन्द्रबहादुर थापाको संयोजकत्वमा निर्वाचन समिति गठन गरेको छ ।

समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार ७ चैतबाट निर्वाचन प्रक्रिया सुरु भएर १८ चैतमा मतदान हुनेछ । यसअघि पटक–पटक उच्च अदालतमा रिट दायर भएपछि स्ववियु निर्वाचन स्थगित भएको थियो ।

८ भदौ २०७३ मा भएको पहिलो स्ववियु निर्वाचनबाट निर्वाचित पदाधिकारीको अवधि २०७६ मा सकिएपछि मध्यपश्चिम विश्वविद्यालयको स्ववियु नेतृत्वविहीन छ । त्यसको तीन वर्षपछि ५ चैत २०७९ मा तय भएको निर्वाचन तालिकामा विद्यार्थीले आफूहरू मतदानमा सहभागी हुन पाउनुपर्ने मागसहित अदालतमा रिट दायर गरेपछि निर्वाचन प्रक्रिया स्थगित भएको थियो ।

त्यसपछि पुनः २८ भदौ २०८१ मा तय भएको निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीमा आफ्नो नाम समावेश नभएको भन्दै २६ भदौमा बायोलोजी समूह पाँचौँ समेस्टरका विद्यार्थी अदालत पुगेपछि निर्वाचन स्थगित भएको थियो ।

विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसमा २०७९ चैतमै निर्वाचन सम्पन्न भइसकेको छ । मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विगत लामो समयदेखि स्ववियु नेतृत्वविहीन बनेपछि उच्च अदालत सुर्खेतले गत माघमा २० चैत २०८१ भित्र निर्वाचन सम्पन्न गराउन विश्वविद्यालयलाई आदेश दिएको थियो ।