काठमाण्डु– काठमाडौँको टोखाबाट एक ट्रक पैसासहित पक्राउ परेका चालक फुच्चे भन्ने कुसान लामा रहेको खुलेको छ ।
मंगलबार बिहान झोर महाकाल क्षेत्रबाट ना.१ ख १६५२ नम्बरको ट्रकसहित पक्राउ परेका ४३ वर्षीय लामा सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१, का रहेको खुलेको हो ।
गएराति ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले पक्राउ गरेको थियो । ट्रकबाट अनुमानित ३ लाख २० हजार ३८५ अमेरिकी डलर र १३ लाख ७५ हजार युरो बरामद भएको हो ।
लामा यसअघि पनि सुन तस्करी प्रकरणमा ५ बर्ष जेल बसेर छुटेको खुल्न आएको छ । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएका थिए । प्रहरीले आजै नियन्त्रणमा लिएको ट्रक, बरामद रकम र लामालाई सार्वजनिक गरिसकेको छ।
नेपाली विनिमय दरका आधारमा उक्त रकम २५ करोड २१ लाख ४४ हजार हुन आउछ ।
‘बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना आयो,’ पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्यौँ। यो ट्रकलाई पनि रोक्यौँ। सुरुमा चालक अलि डराएको जस्तो देखियो। त्यसपछि हामीले थप सजक भएर उनीसँग कुरा गर्यौँ। कुराकानीकै क्रममा उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो।’
प्रहरीले अर्का व्यक्ति कुसाङ लामा भरियाको रूपमा प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उक्त पैसा अवैध सुन किन्नका लागि चीनतर्फ तस्करी भइरहेको आशंकासहित प्रहरीले थप विषय अनुसन्धानपछि खुल्दै जाने बताएको छ ।
प्रतिक्रिया