गाजाको स्वास्थ्य प्रणाली तहसनहस

गाजाको स्वास्थ्य प्रणाली तहसनहस

खाद्यान्न, पानी र औषधिको चरम अभाव, अस्पतालहरू ध्वस्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलले हमाससँग युद्ध सुरु गरेपछि गाजामा ५० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गरेपछि सुरु भएको यो युद्धमा एक लाख १३ हजार २७४ जना घाइते भएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार गाजामा ५० हजार २१ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य अधिकारीहरूले मृतकमा धेरैजसो महिला र बालबालिका रहेको बताएका छन् । हजारौं मानिस अझै भग्नावशेषमुनि पुरिएको आशंका छ, जसले वास्तविक मृत्यु संख्या अझ बढी हुन सक्ने देखाउँछ ।

आइतबार राति इजरायली रक्षा बलले खान युनिसको नासेर मेडिकल कम्प्लेक्समा आक्रमण गरेको थियो । इजरायलले उक्त आक्रमणमा हमासको एक प्रमुख सदस्यलाई निशाना बनाएको दाबी गरेको छ । तर, स्थानीय बासिन्दाले यो आक्रमणले सर्वसाधारणको ज्यान जोखिममा पारेको गुनासो गरेका छन् ।

दुई महिनाको युद्धविराम भंग भएपछि इजरायलले पुनः आक्रमण सुरु गरेको छ । मंगलबारको हवाई आक्रमणमा ४०० भन्दा बढी प्यालेस्टिनी मारिएका छन् । हमासले यो कदमलाई युद्धविराम सम्झौताको ‘डरलाग्दो उल्लंघन’ भनेको छ ।

इजरायली अधिकारीहरूले आगामी दिन अझ कठिन हुने चेतावनी दिएका छन् । गाजावासीले युद्धका कारण खाद्यान्न, पानी र औषधिको चरम अभाव झेलिरहेका छन् । अस्पतालहरू ध्वस्त छन्, औषधि र उपकरणको कमीले घाइतेको उपचारमा समस्या भइरहेको छ ।

सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा आक्रमण गर्दा एक हजार २०० इजरायली र विदेशी नागरिकको मृत्यु भएको थियो ।

त्यसक्रममा २५१ जनालाई बन्धक बनाइएको थियो । जवाफमा, इजरायली रक्षा बलले गाजामा हमासविरुद्ध ठूलो सैन्य कारबाही थालेको हो ।

यो युद्धले गाजाको स्वास्थ्य प्रणाली र सामान्य जनजीवन तहसनहस भएको छ । संयुक्त राष्ट्रसंघले मृतकमा महिला र बालबालिकाको संख्या धेरै रहेको पुष्टि गरेको छ । इजरायली रक्षा बलले नागरिक क्षति कम गर्न प्रयास गरेको दाबी गरे पनि गाजाको अवस्था दिनदिनै बिग्रिँदै गएको छ ।

आक्रमणमा ध्वस्त दक्षिणी गाजामा रहेको कमल अडवान अस्पतालको सर्जरी विभाग