संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड

संविधान संशोधन हुन्छ : अध्यक्ष प्रचण्ड


काठमाडौं – बिहीबार थारु भाषाको पत्रिका ‘मुक्तिक डगर’को विमोचन गर्दे नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पीडित वर्गले चाहे अनुरुपको अधिकार नपाएको भन्दै संविधान संशोधनका माध्यमबाट त्यसलाई पूरा गर्न आफू तयार रहेको बताएका छन् ।

‘हाम्रो आन्दोलन र हाम्रो उद्देश्य अझै पूरा भएको छैन’, प्रचण्डले भने, ‘उत्पीडित जनताले चाहेको र कल्पना गरेको समाजको अझै निर्माण हुन सकेको छैन् ।’ अध्यक्ष प्रचण्डले आफूहरु अझै पनि आन्दोलनकै चरणमा रहेको र आन्दोलनको स्वरुप परिवर्तन गरेको दावी गरेका छन् ।

उनले शान्तिपूर्ण आन्दोलनबाटै पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाउन सकिने दावी गरे । आफूहरुले केही बुँदामा फरक मतसहित संविधानलाई स्वीकार गरेको भन्दै उनले संविधान संशोधन गरेर भए पनि उत्पीडित वर्गलाई अधिकार सम्पन्न बनाएरै छाड्ने प्रतिवद्धता समेत वयक्त गरे ।

नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि उत्पीडित वर्गले धेरै रगत बगाएको भन्दै उनले सहिदको रगतलाई खेर जान नदिने प्रतिवद्धता समेत जनाए । समूहगत हिसाबले नेपालको परिवर्तनमा थारु समूदायको योगदान प्रमुख रहेको उनले बताए। ‘थारु सबैभन्दा सोझो, इमान्दार र असाध्यै मेहेनती समुदायमा पर्छ’, उनले भने, ‘नेपालको इतिहासमा एउटा छुट्टै सांस्कृतिक पहिचान र सभ्यताको प्रतीक पनि हो थारु समुदाय ।’