यूपीएफलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : गगन थापा

यूपीएफलाई नेपालमा तत्काल प्रतिबन्ध लगाउनुपर्छ : गगन थापा


काठमाडौं – युनिभर्सल पिस फेडेरेसन (यूपीएफ)लाई तत्काल प्रतिबन्ध लगाउन नेपाली कांग्रेसका नेता गगन थापाले सरकारसँग माग गरेका छन्। बिहीबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक सन्देश जारी गर्दै नेपालको बदनाम गराउने र धर्मान्तरको कामलाई तीब्रता दिने यो विवादित संस्थालाई तत्काल प्रतिबन्ध लगाउन माग गरेका हुन् ।

फेडेरशनले हालै सार्वजनिक गरेको एक भिडियोमा नोभम्बर २२ ,२००५ मा नेपालमा यूपीएफ उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको उल्लेख छ । तर, थापाले संसद् नै नभएको ०६२ मंसिर ७ गते कसरी संसदले शान्ति दिवस घोषणा र्गयो भन्दै त्यसप्रति आक्रोस पोखेका छन् । बरु उक्त दिन ऐतिहासिक शान्ति सम्झौता भएको स्मरण गराएका छन् ।

शान्ति सम्झौता भए पनि शान्ति दिवस भनेर संसदले घोषणा नगरेको भन्दै उनले भिडियोले नेपाल र नेपालीको अपमान गरेको बताएका छन् । सामाजिक सञ्जालमा अहिले चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण भएको समेत बताएका छन्। ‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टूर कहिले, कसले गर्यो, त्यो विषयमा हाम्रो कुनै चासो छैन’, थापाले फेसबुकमा स्ट्याटस लेखेका छन्, ‘नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि.सं २०६२ मंसिर ७ गते संसद् नै थिएन । बरु त्यो दिन ऐतिहासिक १२ बुँदे समझदारी भएको थियो । यो आफैंमा झुटो, कपोलकल्पित र बदनियतपूर्ण छ ।’

एकनाथ ढकालले ‘जिससकी एकमात्र छोरी’ घोषणा गरेकी हक जा हन मुन लाई’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको दाबीप्रति समेत आपत्ति जनाउँदै थापाले यसले नेपाली जनताको अपमान गरेको बताएका छन् । इसाई धर्मसँग आवद्ध कोरियन अन्तराष्ट्रिय संस्था यूनिभर्सल पिस फेडेरेसन (यूपिएफ) अन्तराष्ट्रिय रुपमानै विवादास्पद र बदनाम संस्था भएको संस्था हो । नितान्त धर्म परिवर्तनको उद्देश्य रहेको संस्था युपिएफले नेपालमा गर्ने क्रियाकलाप सदैव सन्देहपूर्ण हुने गरेको थापाले बताए।

’यसले नेपालको आफ्नो मौलिकता र संस्कृतिमा हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ,’ थापाले भने ‘यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तराष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ। यस्तो कृत्य कुनै पनि नेपाली जनताको लागि सैह्य हुँदैन । त्यसैले युपिएफलाई अबिलम्ब नेपालमा प्रतिबन्ध लगाइनुपर्दछ । साथै धर्म परिवर्तन गर्ने, भ्रामक प्रचार गर्ने यस्ताखाले अन्य संस्थाको पनि पहिचान गरि आवश्यक कारबाही गर्नुपर्दछ ताकि युपिएफले अहिले गरेको जस्तो दुरुपयोग र दुस्साहस अरुले गर्न नपाउन्।’