प्रदूषित शहरको सूचीमा काठमाण्डु दोस्रो स्थानमा

प्रदूषित शहरको सूचीमा काठमाण्डु दोस्रो स्थानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रदूषित शहरको सूचीमा काठमाण्डु बुधबार विश्वको दोस्रो स्थानमा परेको छ । तीन दिनयता वायु गुणस्तर अनुगमन प्रणालीले काठमाण्डुका विभिन्न ठाउँमा अति हानिकारक वायुको गुणस्तर सूचक (एक्युआई) दुई सयभन्दा माथि देखाइरहेको छ ।

बुधबार आईक्यू एअरको तथ्याङ्कमा दुई सय ४९ एक्युआईसहित उच्च प्रदूषित शहरको सूचीमा काठमाण्डु विश्वकै दोस्रो नम्बरमा परेको हो  ।

एक्युआई ५० सम्म राम्रो, ५१ देखि एक सय मध्यम, एक सय एकदेखि एक सय ५० संवेदनशील समूहका लागि अस्वस्थ र त्यसमाथि दुई सयसम्म अस्वस्थ, दुई सय एकदेखि तीन सय निकै अस्वस्थ तथा त्यसभन्दा माथि खतरनाक तहमा पुगेको सङ्केत मानिन्छ ।

मानव स्वास्थ्यलाई प्रतिकूल असर पार्ने गरी वायु प्रदूषण बढ्दो छ । पछिल्ला केही दिनयता प्रदूषणबाट जनजीवन प्रभावित बन्न थालेको भन्दै वातावरण विभागले सचेत हुन आग्रहसमेत गरेको छ ।

वायु प्रदूषणका कारण छालामा एलर्जी हुने, दम र श्वासप्रश्वासका समस्या आउने र पुराना बिरामीलाई झन् समस्या पर्ने, विद्यालयमा पढ्न गएका बालबालिकाको स्वास्थ्यमा समस्या बढ्ने लक्षण उच्च वायु प्रदूषणले निम्त्याउने भएकाले सजग रहन विभागले आग्रह गरेको छ ।

विभागले थप प्रदूषण निम्त्याउन नदिन बाहिर आगो नबाल्न, फोहोर नजलाउन, धेरै धुवाँ फ्याँक्ने गाडीको नियमित जाँच र मर्मत गर्न, उद्योग तथा कलकारखानामा स्वच्छ उर्जा प्रयोग गर्न आग्रहसमेत गरेको छ । वायु प्रदुषण धेरै हुँदा भिजिबिलिटी कम भएर हवाई उडानसमेत प्रभावित बन्ने गरेको छ ।

धुवाँधुलोसहितको प्रदूषण बढ्नुमा वर्षा नहुनु र हावा राम्ररी नचल्नु पनि मुख्य कारण रहेको मौसमविद्ले बताएका छन् । अझै केही दिन पानी पर्ने सम्भावना नरहेकाले सुक्खा खडेरीसँगै डढेलो पनि बढ्ने भएकाले प्रदूषण कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।