काठमाण्डु– सामाजिक संजाल ह्वाट्स एपमार्फत फिरौती माग्ने एक जना पक्राउ परेका छन् ।
ह्वाट्स एपमार्फत ५ करोड भारतीय रूपैयाँ फिरौती माग्ने कोहलपुर नगरपालिका–५ डेरा गरी बस्ने सुर्खेत भेरी गंगा नगरपालिका–७ काठेघारी घर भएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्री पक्राउ परेका हुन् ।
राम बहादुरले विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली आफू लोरेन्स बिस्नोई र अनमोल बिस्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उनी यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको खुलेको छ। धाकधम्की दिँदै सर्वसाधारणबाट चन्दा असुली, मानव बेचविखन लगायतका घटनामा पक्राउ परीसकेका छन् ।
कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्तिबहादुर बस्नेतलाई गोली हानेको मुद्दामा ५ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो। सजाय भुक्तान गरेर २०७० फागुन २८ गते कारागारबाट छुटेको उनले प्रहरीसँग बताएका छन्।
रामबहादुर २०५९ सालमा नेपाली सेनामा भर्ना भएर छोटो समयमै भागेको पनि खुलेको छ। सेनाबाट भागिसकेपछि उनले श्रृखलाबद्ध आपराधिक गतिविधि गरेको दाबी प्रहरीको छ। उनको साथबाट प्रहरीले भारतीय आधारकार्ड पनि फेला परेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया