काठमाण्डु- तीनकुने क्षेत्रमा भएको आगजनी, तोडफोड, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न थप १८ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
गत शुक्रबार तीनकुने क्षेत्रमा नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईंको अगुवाइमा शान्तिपूर्ण प्रदर्शनको पूर्वअनुमति लिएर आयोजित कार्यक्रममा आयोजकहरूले नै प्रदर्शनकारीहरूलाई उत्तेजित बनाएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
प्रदर्शनकारीहरूले संघीय संसद् भवन वरिपरिको निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि ढुंगामुढा गरेका थिए। साथै, आफैंले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्यले आक्रमण गर्नुका साथै सुरक्षाकर्मीहरूमाथि ढुंगा, लाठी, फलामका रड र घरेलु हतियारले प्रहार गरेको प्रहरीले जनाएको छ।
यस क्रममा सुरक्षाकर्मीहरूको हातहतियार खोस्ने, घाइते बनाउने, सर्वसाधारणको घर, निजी सम्पत्ति, संचार गृह, राजनीतिक दलका कार्यालय, नेताहरूको निजी निवास, अस्पताल, प्रहरी कार्यालय, व्यापारिक केन्द्र, नेपाल आयल निगमको इन्धन भण्डारण स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तरराष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउन्डमा तोडफोड र आगजनी भएको थियो। यस्तै, घरभित्रको नगद र सामान लुटपाट गर्नुका साथै सडकमा गुडिरहेका निजी तथा सरकारी सवारी साधनमा आगजनी गरी आतंक मच्चाइएको प्रहरीको भनाइ छ।
पक्राउ परेका १८ जना प्रतिवादीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि संगठित रूपमा अपराधिक कार्य गरेको, मानिसको ज्यान लिने प्रयास गरेको लगायतका कसूरमा अनुसन्धान भइरहेको छ। काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति प्राप्त गरी प्रहरीले अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया