पूर्वराजा ज्ञानेन्द्रले सम्झौता तोडे : महासचिव पोखरेल

पूर्वराजा ज्ञानेन्द्रले सम्झौता तोडे : महासचिव पोखरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले २०६३ सालमा गणतन्त्रका पक्षधर राजनीतिक दलसँग गरेको सम्झौता तोडेको बताएका छन् ।

बुधबार सुनसरीको इटहरीमा आयोजित एमालेको जागरण सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पूर्वराजा ज्ञानेन्द्रका पछिल्ला अभिव्यक्ति र गतिविधि सम्झौता विपरीत भएको बताए । पूर्वराजा ज्ञानेन्द्र अहिलेको अस्थिरताको कारक बनेका पोखरेलको धारणा छ ।

‘शान्तिपूर्ण ढङ्गले नेपालमा नै बस्न पाऊँ भनेर जुन माग गरेका थिए, उनले व्यवस्थाको विरुद्ध, संविधानको विरुद्ध, जनताको आन्दोलनका विरुद्ध, जनआकांक्षाविरुद्ध जुन अभिव्यक्ति दिएका छन्, त्यो नेपाली जनताका लागि स्वीकार्य छैन,’ पोखरेलले भने ।

गत चैत १५ गते जुन घटना घट्यो, त्यसको जिम्मेवार अरू कोही नभएर पूर्वराजा ज्ञानेन्द्र नै भएका उनले बताए । ‘मुख्य जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र नै हुन्, अरू त उनका मतियार मात्र हुन्, सुण्डमुसुण्ड मात्रै हुन्,’ उनले भने ।

घटनाको सूत्रधार खलनायक दुर्गा प्रसाईं र त्यसका आयोजक नवराज सुवेदी, धवलशम्शेर राणा भएका उनले बताए । दुर्गा प्रसाईं जस्तो नालायक व्यक्तिलाई कमाण्डरको जिम्मा दिने पूर्वराजा नै त्यसको योजनाकार भएकाले यसको सबै जिम्मा उनले नै लिनुपर्ने उनको धारणा छ । बंगलादेशमा जस्तै लुटपाट मच्चाउँदै व्यवस्था उल्टाउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्रले बितण्डा मच्चाउन लगाएका पोखरेलको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र कस्ता व्यक्ति हुन् भन्ने कुरा इतिहासले नै प्रमाणित गरिसकेको पोखरेलले बताए । पूर्वराजा लागूऔषध र पुराना मूर्ति तस्करीमा संलग्न व्यक्ति भएका उनले बताए ।

तत्कालीन राजा वीरेन्द्र पनि ज्ञानेन्द्रकै योजनामा मारिएका भनेर नेपाली जनताले प्रश्न उठाइरहेका उनले बताए । मरिसकेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरेर ज्ञानेन्द्रले नाटक गरेको उनले सुनाए । छोरामा सरिसकेको राजा फेरि काकामा फर्काएर तत्कालीन राजतन्त्रको परम्परा विपरीत ज्ञानेन्द्र राजा बनेका उनको भनाइ छ ।

पूर्वराजा ज्ञानेन्द्र संवैधानिक राजा बन्ने चरित्रका मानिस नै नभएका उनले बताए । त्यसैले पूर्वराजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका उनले स्पष्ट पारे । त्यसैले उनकै व्यवहारका कारण नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना भएको पोखरेलले दाबी गरे ।

नेपालमा सडकबाट मात्र गणतन्त्र नआएको पनि उनले स्पष्ट पारे । नेपालको संविधान सभाले सर्वसम्मतको आधारमा राजतन्त्रको अन्त्य गरी मुलुकलाई गणतन्त्रमा लगेको उनले स्पष्ट पारे ।

अब कसैले संविधानमाथि चुनौती दिन चाहन्छ भने जनताको बीचमा गएर दुईतिहाइ बहुमत ल्याई संविधान परिवर्तन गर्न उनले राजावादीलाई चुनौती दिए । अरू कुनै पनि उपायबाट संविधान परिवर्तन गर्न नसकिने उनले स्पष्ट पारेका छन् ।

गणतन्त्र आएपछि केही भएन भन्नेलाई राजाको पालामा भएका विकास र गणतन्त्रमा भएको विकासका कामलाई तुलना गरेर हेर्न उनले आग्रह गररे । सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार, विद्युत्, सञ्चार, प्रविधि, आर्थिक, सामाजिक विकास सबैलाई तुलना गरेर हेर्न उनको आग्रह छ ।

गणतन्त्रको रक्षका लागि गणतन्त्रका पक्षधर हरेक नागरिक यी तथ्यबारे बोल्नुपर्ने पोखरेलले बताए । हरेक टोल, बस्ती र चोकमा यी कुरा उठाउनुपर्ने उनको धारणा छ ।

लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताउँदै उनले लोकतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुन नसक्ने बताए । लोकतन्त्रले त्यहीँभित्र विकल्प खोज्ने अवसर दिने बताउँदै उनले राजतन्त्रमा त्यस्तो विकल्प नहुने स्पष्ट पारेका छन् ।