काठमाण्डु – नेपाल प्रहरीले चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको जानकारी गराएको छ ।
बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले २० जनामाथि गोली चलेको र गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष रहेको जानकारी दिए ।
उनले भने, ‘प्रहरीबाट आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको छ । गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत छन् ।’
प्रहरीले राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको भनेर गलत आरोप लागेको पनि उनले प्रस्ट पारे । सामाजिक सञ्जालमा आएको भिडियो फेक भएको उनको दाबी छ ।
उनले भने, ‘कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग गरेको छैन । कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ? एउटा पनि भिडियो जहाँ कार्यक्रम सुरु भइसकेको अवस्था देखिन्छ । राष्ट्रिय गान बजेको भनिएको छ, त्यस्तो केही पनि होइन । झडप हुने क्रममा, टियर ग्यास हान्ने क्रममा त्यहाँ पनि पुगेको हो । एउटा टियर ग्यास एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ । प्रहरी कम्फर्टेबल स्थितिमा थिएन । हतारोमा कहिलेकाँही एंगल मिल्दैन ।’
प्रवक्ता आचार्यले ठूलो क्षति हुनसक्ने अवस्थालाई ध्यानमा राखेर २ ः५४ मा पहिलो पटक प्रहरीद्वारा गोली प्रहार गरिएको जानकारी गराए ।
उनले जम्मा ५८ राउन्ड गोली प्रहार, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको र २ वटा गोली पेस्तोलबाट प्रहार भएको पनि जानकारी दिए ।
प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको र प्रहरीको बल प्रयोगबाट प्रदर्शनकारी ५३ जना घाइते भएको आचार्यले बताए । भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा रेविका खत्री र उनका दाजुमाथि झुक्किएर गोली लागेको पनि स्पष्टीकरण उनले बताए ।
प्रतिक्रिया