काठमाण्डु- काठमाण्डु उपत्यकामा वायु प्रदूषण दिनहुँ बढ्दै गएको छ । बिहीबार बिहान ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाण्डु उपत्यकाकाको वायु प्रदूषणले खतरनाक तह पार गरेको छ ।
वायुको अवस्था मापन गर्ने आईक्यू एअरको तथ्यांकअनुसार बिहीबार बिहान काठमाण्डुको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३५६ छ ।

एक्यूआई ५० सम्म स्वस्थकर, १०१ देखि १५० सम्म सामान्य जोखिम, १५१ देखि २ सयसम्म अस्वस्थकर, २०१ देखि ३०० सम्म निकै अस्वस्थकर र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
बिहीबार काठमाण्डु विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा परेको छ । सबैभन्दा धेरै प्रदुषण इराकको बगदाद छ । त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको दिल्लीको वायुको एक्यूआई १९८ छ ।
पछिल्लो केही दिनदेखि काठमाण्डुमा प्रदूषण बढ्दा अस्पतालहरूमा बिरामीको चाप बढेको छ । वायु प्रदूषणका कारण बालबालिका, गर्भवती, दीर्घरोगी, र जेष्ठ नागरिकहरू बढी जोखिममा परेका छन् ।
चिकित्कसहरूले अहिले काठमाण्डुको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताएका छन् ।
विगत लामो समयदेखि पानी नपर्दा काठमाण्डुको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका विभिन्न जंगलमा लागेको डढेलोको धुँवाको कारण वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरूले बताएका छन् ।
स्वास्थ्य मन्त्रालयले वायु प्रदूषण बढेका कारण अनावश्यक यात्रा र बिहानी हिँडाइ नगर्न आग्रह गरेको छ ।
मन्त्रालयले विज्ञप्ति जारी गरी, बाहिर यात्रा गर्नै परेमा अनिवार्य रूपमा मास्क लगाउन र अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन आग्रह गरेको हो ।
मन्त्रालयले वायु प्रदूषणले मुटु, रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान, र घाँटीलगायतका अङ्गहरूमा गम्भीर असर पार्ने भन्दै स्वास्थ्य सावधानी अपनाउन सुझाव दिएको छ ।
मौसमविद्हरूका अनुसार विगत केही दिनदेखि वायु प्रदूषणका कारण उपत्यकामा डम्म लागेको बादल फाट्न अझ केही दिन लाग्नेछ ।
शुक्रबारदेखि वायुको वेग बिहीबारको तुलनामा अधिक हुने सम्भावना रहेकाले क्रमशः सुधार भई आकाश खुल्ने मौसमविद् बिनु महर्जनले जानकारी दिइन् ।
हाल राजधानी उपत्यकामा वर्षा हुने अवस्था नरहेको तर क्रमशः यहाँको आकाशबाट बादल हट्ने लक्षण देखिएको उनले बताइन् ।


प्रतिक्रिया