काठमाण्डु– ललितपुरको कुमारीपाटी–जावलाखेलमा शुक्रबारदेखि चैत २३ गतेसम्म सडक महोत्सव हुने भएको छ ।
स्थानीय कला र संस्कृतिको प्रवर्द्धन गर्न कुमारीपाटी जावलाखेल विकास संस्था र ललितपुर महानगरपालिकाले ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा महोत्सवको आयोजना गरेको हो ।
स्थानीय कला, संस्कृतिको संरक्षणका साथै पर्यटन प्रवर्द्धनका लागि नौ वर्षपछि कुमारीपाटी–जावलाखेल खण्डमा महोत्सवको आयोजना गर्न लागिएको हो ।
महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेकाले भोलि दिउँसो १ बजे बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको प्रमुख आथित्यतामा उद्घाटन गरिनेसडक महोत्सवका संयोजक वीरेन्द्र शाक्यले जानकारी दिए। उनका अनुसार ललितपुरको इटीटोलमा महोत्सवको मञ्च राखिनेछ । साथै रातो मच्छिन्द्रनाथको रथको पाङ्ग्रा र रातो मच्छिद्रनाथसँग सम्बन्धित अन्य मूर्ति, सालिक पनि प्रदर्शनमा राखिने छ ।
शुक्रबार र शनिबार कुमारीपाटी–जावलाखेल खण्ड पूर्णरूपमा बन्द रहने जनाउँदै शाक्यले सडकको दाँयाबाँया राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विभिन्न परिकारसहित विभिन्न जातजातिका वेषभूषा प्रर्दशनीमा राखिने उल्लेख गरे । सडक महोत्सवमा विभिन्न जातजाति अनुसारका संस्कृतिक कार्यक्रम हुनेछ भने बेलुकी ३ बजेदेखि साङ्गीतिक प्रस्तुतीको पनि व्यवस्था गरिएको छ ।
दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा करिब ५ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सवक आयोजक समितिले जनाएको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्थासहित जावलाखेल–कुमारीपाटी र लगनेखल क्षेत्रमा सवारीसाधन पार्र्किङको व्यवस्था गरिएको संयोजक शाक्यले जानकारी दिए ।
पहिलो पटक विसं २०७१ मा सञ्चालन भएको महोत्सव उपलब्धिमूलक भएकाले दोस्रो पटक दुई दिनका लागि महोत्सव गर्न लागिएको आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया