काठमाण्डु– सुडानको डारफुर क्षेत्रमा पर्ने उम्म कदादाह सहरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ)ले शुक्रबार र शनिबार गरी दुई दिन लगातार आक्रमण गर्दा ५६ जना सर्वसाधारणको ज्यान गएको स्थानीय स्वयंसेवी समूहले जानकारी दिएको छ ।
स्थानीय समितिका अनुसार, आक्रमण जातीय पहिचानका आधारमा गरिएको थियो र मृतकमध्ये धेरैजसो एउटै समुदायका थिए ।
उम्म कदादाह सहर डारफुर क्षेत्रको अन्तिम ठूलो सहर इल–फाशरतर्फ जाने मार्गमा पर्छ, जुन अहिले पनि सुडानी सेनाको नियन्त्रणमा रहेको सहर हो ।
स्थानीय प्रतिरोध समितिका अनुसार शुक्रबार र शनिबार भएका आक्रमण जातीय पहिचानका आधारमा लक्षित गरिएको थियो । यो समिति युद्ध सुरु भएदेखि नै राहत र समन्वयका काममा सक्रिय रहेको छ ।
उम्म कदादाह इल–फाशरबाट करिब १८० किलोमिटर पूर्वमा अवस्थित छ । अर्धसैनिक समूहले सहरलाई कब्जा गरेको एक दिनपछि त्यहाँ आक्रमण भएको हो ।
समितिले आक्रमणका क्रममा सर्वसाधारणमाथि हिंसा, धेरैलाई सहरबाट जबरजस्ती विस्थापित र सम्पूर्ण संचार सेवाहरू बन्द गरिएको जनाएको छ । समितिका अनुसार कम्तीमा १४ जना अझै हराइरहेका छन् ।
प्रतिक्रिया