विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारले बोलायो संसद् अधिवेशन, शिक्षकहरूलाई विद्यालय फर्कन आह्वान

विद्यालय शिक्षा विधेयक पारित गर्न सरकारले बोलायो संसद् अधिवेशन, शिक्षकहरूलाई विद्यालय फर्कन आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सरकारले संघीय संसद्को अधिवेशन बोलाएको छ । वैशाख १२ गते संसद अधिपेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गर्ने निर्णय सरकारले गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले संसदको वर्षे अधिवेशन वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेको हो ।

संघीय संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने प्रयोजनका लागि अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

सरकारको तर्फबाट विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

विभिन्न माग राखेर गएको चैत २० गतेदेखि शिक्षकहरुले काठमाण्डौमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले संघीय संसद्को बैठक आह्वान गरेको जनाएको छ ।

यसैबीच आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार भएको छ । मन्त्रिपरिषद् बैठकले यसअघि भएका सहमति कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै आन्दोलन छाडेर विद्यालयमा फर्कन शिक्षकहरूलाई आह्वान पनि गरेको छ ।

नेपाल शिक्षक महासंंघले उठाएका माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि संवाद गर्न संवेदनशील रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।

उनले शिक्षकहरूको मागको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील तथा गम्भीर रहेको बताइन् ।

विद्यार्थी भर्नाको समय तथा एसईईको उत्तरपुुस्तिका परीक्षण एवम् कक्षा १२ को राष्ट्रिय परीक्षाको समय भएकाले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवम् विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकलाई आ–आफ्नो कार्यथलोमा फर्किन मन्त्रिपरिषद्को बैठकले अनुरोध गरेको छ ।