प्रधानमन्त्री ओलीले भने- भीडमा अगाडि बढ्दा एउटाले अर्काको जुत्ता टेक्नु स्वभाविक हो

प्रधानमन्त्री ओलीले भने- भीडमा अगाडि बढ्दा एउटाले अर्काको जुत्ता टेक्नु स्वभाविक हो


काठमाडौं– अन्तर प्रदेश समन्वय कार्यदलको प्रतिवदेन बुझ्दै मंगलबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणका लागि संघीय, प्रदेश र स्थानीय सरकारको सम्बन्ध सुमधुर हुनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले तीन प्रकारका सरकारले आपसी सम्बन्धलाई रस्साकस्सीको विषय बनाउनु नहुने बताएका छन् । ‘सबैले सार्वभौमसत्ताको सही ढंगले प्रयोग गर्नुपर्दछ । अहिले हामीले अवलम्बन गरेको प्रणालीले सबैलाई अवसर दिएको छ’ प्रधानमन्त्री ओलीले भने,‘संघीय प्रणाली हाम्रा लागि नयाँ भएकोले त्यसमा अभ्यस्त हुन हामीलाई केही समय लाग्छ । तर हामी उपयुक्त प्रणाली मै छौं ।’

‘अहिले एउटा सरकारको अधिकार अर्को सरकारले लिए जस्तो । एउटाले अधिकार आफूसँग राखेर अर्कालाई नदिएजस्तो महसुस भएको देखिन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा सरकारको अभ्यासबाट ७६१ वटा सरकारको अभ्यास गर्दा यस्तो हुन्छ । एक ठाउँबाट भीड अगाडि बढ्यो भने एउटाले अर्कोको जुत्ता टेक्छ । कसैको चप्पल छोडिन्छ । कहीं ठेलमठेल पनि होला तर केही अघि बढेपछि सबै आफ्नो आफ्नो बाटोमा सजिलै हिड्न सक्छन् । अहिले हामी त्यही सुरुवाती यात्रामा भएकोले अप्ठेरो जस्तो महसुस भएको हो ।’

गत मंसिर २४ गते अन्तरप्रदेश परिषदको बैठकले संघर प्रदेशका समस्या समाधान गर्नका लागि गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा एक समिति गठन गरेको थियो । समितिले आज पेश गरेको प्रतिवदेनका विषयमा मन्त्रीहरु, मूख्यमन्त्रीहरुले आफ्नो धारणा राखेका थिए । यसैगरी प्रधानमन्त्री ओलीसँगै आजै संघीय संसदका सभामुख, उपसभामुख र सातै प्रदेशका सभामुख, उपसभामुखले भेट गरेका छन् ।