काठमाडौं – गत मंसिर १६ गते संसदको विकास तथा प्रविधि समितिमा आएर खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले २ महिनामा मेलम्चीको पानी काठमाडौं आउने दाबी गरे ।
मन्त्रालयका सचिवले संसदीय समितिमा गरेको दाबी विपरीत दुई हप्तापछि ठेकेदार कम्पनी भाग्न खोजेको सार्वजनिक भयो । मेलम्ची निर्माणमा भित्रभित्रै अर्कै खिचडी पाकिरहँदा मन्त्रालयका सचिवले वास्तविकता लुकाएर मेलम्चीको पानी आउने आशा जगाइरहेका थिए ।
ठेकेदार कम्पनी भाग्न खोजेको खबरले सर्वसाधारणमा फेरि मेलम्चीबारे निराशा छाएको छ । यसअघि खानेपानी मन्त्री बिना मगरले दशैंअघि नै मेलम्चीको पानी काठमाडौं आउने बताएकी थिइन् । तर उनले गरेको वाचा पूरा नभएपछि हिजोआज मन्त्री मगर मेलम्चीबारे बोल्दै छाडेकी छन् । संसदीय समितिमा बोलाउँदा पनि मन्त्री मगर आउँदिनन् ।
ठेकेदार इटालियन कम्पनी सीएमसीसँग मन्त्रालयको विवाद सार्वजनिक भएपछि पनि खानेपानी मन्त्रालयले मेलम्चीको कार्यतालिका नफेरिने दाबी गरेको छ । तर मेलम्चीको कार्यतालिका वर्षाैदेखि फेरिँदै आएको छ । खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले पछिल्लो अवस्थाबारे मंगलबार विज्ञप्ति निकाल्ने गरेको दाबीबारे बुझ्नुअघि मंसिर १६ गते संसदीय समितिमा भनेका कुरा हेरौं । उनले संसदीय समितिमा भनेका थिए –
– पहिले जेजे भयो–भयो, अब हुँदैन । म ठोकुवाका साथ भन्छु २ महिनामा सबै काम सकिन्छ, त्यसको ७ दिनभित्र पानी आउँछ ।
– मैले सरकारी सेवा गरेको ३५–३६ वर्ष भइसक्यो, तपाईहरू ढुक्क हुनुस् पानी २ महिनामा आउँछ, आउँछ । ताली बजाइदिनु भए हामीलाई हौसला हुनेछ ।
मेलम्चीमा ठेकेदार कम्पनीसँग चलिरहेको विवाद लुकाएर २ महिनामा पानी आउने ढुक्कसाथ बोलेका सचिव ठाकुरले मंगलबार फेरि अर्काे विज्ञप्ति निकालेका छन् । उनले भनेका छन् मेलम्चीको कार्यतालिका फेरिँदैन । तर ठेकेदार कम्पनीले काम नगरेपछि कसरी काम हुन्छ भनेर पत्याउन सकिने आधारबारे उनले विज्ञप्तिमा चर्चा गरेका छैनन् । त्यसैले सचिव ठाकुरको विज्ञप्तिलाई कसरी पत्याउने ?
फेरि आधारहीन दाबी
‘अहिलेकै ठेकेदार कम्पनीले काम नगर्ने परिस्थितिमा समेत कार्यतालिका प्रभावित नहुने गरी आयोजना सम्पन्न गर्न मन्त्रालय सक्षम र तम्तयारी अवस्थामा रहेको व्यहोरासमेत सरोकारवाला निकाय, उपभोक्ता र आम जनसमुदायमा स्पष्ट गर्न चाहन्छौं,’ सचिव ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘विकसित परिस्थितिबाट मेलम्ची आयोजनाको निर्माण कार्य प्रभावित नहुने व्यहोरा स्पष्ट गर्दै आयोजनाप्रति कहीँकतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नुहुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं ।’
झूटा आश्वासन दिने र सत्य लुकाएर आशा जगाउने मन्त्रालयका सचिवले सकारात्मक सुझाव र उत्प्रेरणाको आशा गरेका छन् । सचिवले विज्ञप्ति जारी गर्नुअघि खानेपानी मन्त्रालयमा मन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेलले ठेकेदार कम्पनीका प्रतिनिधिसँग छलफल गरेका थिए । तर ठेकेदार कम्पनीबाट सन्तोषजनक जवाफ आएको छैन ।
ठेकेदार कम्पनीको केन्द्रीय कार्यालय नै टाट पल्टिने अवस्थामा रहेकाले उसले मेलम्चीलाई पूर्णता दिने आशा गलत हुन सक्छ । ठेकेदार कम्पनीसँग सम्झौता भंग गरेर नयाँसँग सम्झौता गर्नु पनि प्रक्रियागत रुपमा लामो र झन्झटिलो हुनेछ । हालको ठेक्का रद्द गरी नयाँ नियुक्त गर्न र परिचालन गर्नै एक वर्ष लाग्छ । त्यसैले पछिल्लो विकसित घटनाक्रमपछि मेलम्चीको भविष्य अझै अनिश्चित भएको छ ।
यसअघि मंसिर २७ गतेसम्म भुक्तानी नपाए आपूmले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई दिइसकेको थियो । उसले नेपालमा कार्यरत मजदुर, विभिन्न निर्माण सामग्री, यन्त्र उपकरणका आपूर्तिकर्तालाई भुक्तानी दिन नपाएको भन्दै विवाद निरुपण बोर्ड (डीआरबी) ले तय गरेको ३६ करोड रुपैयाँ तत्काल निकासा गर्न ताकेता गर्दै आएको थियो । मन्त्रालय र मेलम्चीले रकम भुक्तानी गरेनन् ।
ठेकेदारले साइट छाडी काठमाडौं आएर स्वदेश फर्कन लागेका बेला सरकारले ठेकेदार कम्पनीका कर्मचारीको राहदानी जफत गरेको थियो । भूकम्प र भारतीय नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै ठेकेदारले एक अर्ब ६१ करोड रुपैयाँ दाबी गरेको थियो ।
आयोजनाले दाबी अस्वीकार गरेपछि यो विषय बोर्डमा पुगेको थियो । बोर्डले ३६ करोड रुपैयाँ आयोजनाले तिर्नुपर्ने निर्णय गरेको थियो । बोर्डको निर्णयका अतिरिक्त ठेकेदारले ६० करोड रुपैयाँको भेरिएसन बिल पेस गरेको आयोजना स्रोतले बतायो । बोर्डले तय गरेको ३६ करोड र भेरियसन बापतको रकमसमेत गरी करिब एक अर्ब रुपैयाँ पाउनुपर्ने ठेकेदारको दाबी छ। ठेकेदारले काम थालेको शुरूदेखि हालसम्मको भन्दै भेरियसन दाबी गरेको थियो । तर लेनदेनमा दुवै पक्षबीच कुरा मिलिरहेको थिएन र छैन ।
मेलम्ची बनाउने सीएमसी संसारभर बदनाम
इटलियन ठेकेदार कम्पनी कोअपरेतिभा मुरातोरी एन्ड सिमेन्तिस्ती (सीएमसी) दी रभेन्ना टाट पल्टिने स्थितिमा रहेको पाइएको छ । कम्पनीले आफू टाट पल्टिने स्थिति रहेको अवगत गराउँदै इटालीको एक अदालतमा निवेदन समेत दिएको छ ।
सीएमसीले संसारका धेरै देशमा निर्माण कार्यहरूको ठेक्का लिएको छ । ती मध्ये अधिकांश देशमा विवाद पनि निम्त्याएको देखिन्छ । इटालीमै पनि सीएमसी फर्जी चलानी बनाएर लाखौं युरोको घोटाला गर्ने कम्पनीहरूको समूहमा रहेको खबरहरू छापिएका छन् । उसले माफियाको पैसा चलाएको खबर रोयटर्स समाचार संस्थाले छापेको छ ।
युगाान्डाको राजधानी कम्पालामा द्रुतमार्गको ठेक्का पाएको सीएमसीले सञ्चालन पूँजी ल्याउन नसकेर समयमै काम नसकेको खबर पनि भेटिएको छ । केन्याको इटारे बाँध निर्माणलाई मजदूरहरूलाई उचित तलब नदिएको भन्दै विरोध प्रदर्शन भएपछि सीएमसीले छ सय कामदारलाई यसै वर्षको फेब्रुअरी महिनामा निकालेको थियो ।
यसै वर्षको पहिलो ६ महिनामा सीएमसीमा ऋणको मात्रा चर्को रूपमा बढेपछि लगानीकर्ताहरूले उसको तरलता अवस्थाका बारेमा प्रश्न उठाउन थालेका थिए । सीएमसीमा तरलताको अभाव देखिएको छ । टाट पल्टिने स्थितिमा पुगेपछि कम्पनी आफैं र यसका ६९ सय जना कर्मचारीको भविष्य नै अन्योलमा रहेको छ ।
एक वर्षअघि ५० करोड युरो ऋणपत्र (बोन्ड) मा जारी गरेको सीएमसीले एक महिनाअघि त्यसको भरपाई गर्न नसक्ने घोषणा गरेको थियो । त्यो भरपाई गत शनिवारसम्म गरिसक्नुपर्नेमा नसकेपछि सीएमसी टाट पल्टिने स्थितिमा पुगेको हो ।
बोन्डको वरीयता निर्धारण गर्ने मूडीज एजेन्सीले सीएमसीको रेटिङ घटुवा गरेर बी३ मा पुर्याएपछि यो कम्पनीको आर्थिक स्थिति कमजोर रहेको देखिएको हो । कम्पनी आफैं टाट पल्टिने अवस्थामा रहेकाले यसले मेलम्ची बनाउने अवस्था नरहेको विश्लेषण हुन थालेको छ ।
२०७३ बैशाखमा सक्नुपर्ने थियो काम
सीएमसीले सात अर्ब ७२ करोड रुपैयाँमा २०७० असार ३१ गते मेलम्चीको दुई हजार २१ हजार एक सय ४० मिटर सुरुङ र हेडवक्र्सको ठेक्का पाएको थियो । उसले २०७० असोज १५ गतेदेखि काम शुरू गरेको थियो ।
काम सुरु गरेकोबाट एक हजार ९५ दिन (२०७३ वैशाख) भित्र उसले ठेक्का पूरा गर्नुपर्ने शर्त थियो । बीचबीचमा धेरै पटकको कार्यसूचि परिवर्तन हुँदै पछिल्लोपटक २०७५ माघ २७ गते काम सक्ने सम्झौता थियो । सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंको सुन्दरीजलसम्म कूल साढे २६ किलोमिटर सुरुङ खन्ने काम गत चैत ३० गते पूरा भएको थियो ।
त्यसपछि सुरुङको कंक्रिट लाइनिङ काममध्ये झन्डै एक किलोमिटर बाँकी छ । हेडवक्र्सतर्फ सीएमसीले काम नगरेको आयोजनाले जनाएको छ । ठेकेदार कम्पनीले काम छाडेर जान खोजेपछि अब मेलम्ची आउने आशामा समेत कालो बादल मडारिएको छ ।
प्रतिक्रिया