काठमाडौं – नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको भारत भ्रमणको टुंगो लागेको छ । सेनापति थापाको आगामी जनवरी ११ मा भारत जाने टुंगो लागेको हो । सैनिक स्रोतकाअनुसार थापा ६ दिने भारत भ्रमणका लागी नयां दिल्ली जान लागेका हुन । उनि जनवरी १६ मा स्वदेश फर्कने छन् । प्रधानसेनापति थापाको भ्रमणको तयारीमा दुवै देशका सैनिक अधिकारी जुटिसकेका छन् ।
काठमाडौंस्थित भारतिय दूतावासमा कार्यरत सैनिक सहचारी कर्णेल अभिनेश चाम्वियल र नयां दिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत सेनाका सहायकरथी ईश्वरकान्त मैनालीले प्रधानसेनापतिको भ्रमणको तयारी गर्दैछन् । सहायकरथी मैनाली भ्रमणकै तयारीको लागी हाल काठमाडौंमा छन् ।
मैनालीसंगै सेनाका अन्य उच्च अधिकारी पनि भ्रमणबारे भारतिय सेनाका अधिकारीसंग छलफलमा छन् । सेनापति थापाको प्रधानसेनापति भएपछिको यो पहिलो विदेश भ्रमण हो ।
नेपाली सेनाको प्रधानसेनापति भारतिय सेनाको मानार्थ सेनापति हुने परम्परा रहंदै आएको छ । थापा त्यसैका लागी भारत भ्रमणमा जाने तयारीमा छन् ।
थापालाई भारत भ्रमणको क्रममा भारतका राष्ट्रपतिले मानार्थ प्रधानसेनापतिको दज्र्यानी चिन्ह लगाउने कार्यक्रम छ । त्यसका साथै प्रधानसेनापति थापाले भारतिय समकक्षी विपिन रावत,रक्षामन्त्री निर्मला सिथारमण र अन्य उच्च तहका सरकारी अधिकारीसंग भेटवार्ता गर्ने कार्यक्रम छ । थापा गत भदौ २४ मा प्रधानसेनापतिमा नियुक्त भएका थिए । उनलाई दिल्ली बाहिर पनि एक दिन भ्रमणमा लाने भारतिय सेनाको तयारी छ । थापा लखनऊ वा कलकत्ता जाने सम्भावना रहेको बताईन्छ ।
उनको नियुक्तीपछि भारत,चीन र अमेरिकालगायतका मुलुकले आफ्नो देशको भ्रमण गर्न थापालाई आग्रह गरेको स्रोतको दाबी छ । तर, थापाले उक्त आग्रहलाई अहिले घर सुदृढ गर्न लागेको भन्दै उपयुक्त समयमा भ्रमण गर्ने कुटनीतिक जवाफ दिदैं आएका थिए ।
यसअघि प्रधानसेनापति भएलगत्तै भारत भ्रमणमा जाने परम्परा थियो । थापाले पनि नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो विदेश भ्रमण नै भारतबाट सुरु गर्ने तयारी गरेका छन् । उनले भारतबाटै नेशनल डिफेन्स कोर्स गरेका थिए ।
यसअघि पनि विमेस्टेक राष्ट्रका सेनाको सैन्य अभ्यासको अवसरमा आयोजित कार्यक्रममा थापा भारत जाने तयारीमा थिए । तर, सरकारले उनको भ्रमण अस्विकृत गरेपछि थापा रोकिएका थिए ।
विमेस्टेक राष्ट्रका सेनाको अभ्यासमा भारत जाने तयारीमा रहेका थापाको भ्रमण स्थगित भएपछि भारतले त्यसमा असन्तुष्टी जनाएको उच्च स्रोतको दाबी छ ।
प्रतिक्रिया