सभापति देउवाले सम्बोधन गरेपछि काँग्रेस महासमिति बैठक आज समापन हुँदै

सभापति देउवाले सम्बोधन गरेपछि काँग्रेस महासमिति बैठक आज समापन हुँदै


काठमाडौं – नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ । महासमिति बैठकले मुलत विधानमा व्यापक छलफल गरी अनुमोदन गर्ने एजेण्डा भएपनि बैठकमा संशोधित विधान पेश गर्न नै ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको हो ।

आठ दिनसम्म चलेको बैठकको बन्द सत्रमा आइतबार दिउँसोसम्म विधान मस्यौदा प्रतिवेदनमाथि छलफल हुने र त्यसपछि सबै प्रतिवेदन पारित भई आजै बैठक समापन हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।  विधान मस्यौदामाथि महासमिति सदस्यहरुले धारणा राखेपछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन गर्न लागिएको हो ।

काँग्रेसको महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्वारा पेश भएको विधान मस्यौदामाथि धारणा राख्ने क्रम जारी छ । यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो ।

शनिबार विधान पेश भएपछि त्यसैमा केन्द्रीत रहेर छलफल भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । शनिबारको बैठकमा विधानमाथि छलफलमा सहभागि अधिकांश जिल्ला सभापतिहरुले काँग्रेसका कुनैपनि तहका नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हटाउनुपर्ने माग राखेका थिए ।

स्वतः महाधिवेशन प्रतिनिधि हुँदा तल्लो तहसँगको सम्बन्ध कमजोर बनेको भन्दै उनीहरुले विधानमा यो व्यवस्थालाई परिवर्तन गर्न जोड दिएका हुन् । त्यस्तै आरक्षणका सवालमा पनि एक व्यक्तिले एक पटकमात्रै आरक्षण पाउनुपर्ने र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने सभापतिहरुको माग छ ।

गत शुक्रबार काँग्रेसका शीर्ष नेताहरुबीच नयाँ विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ तथा कोषाध्यक्ष १ गरी १४ जना पदाधिकारी राख्ने सहमति भएको थियो ।