दिगम्वर झालाई हटाउन नेकपाका ४३ केन्द्रीय सदस्यले लेखे अध्यक्षद्वयलाई पत्र

दिगम्वर झालाई हटाउन नेकपाका ४३ केन्द्रीय सदस्यले लेखे अध्यक्षद्वयलाई पत्र


काठमाडौं – नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्वर झालाई हटाउन नेकपाका ४३ जना केन्द्रीय सदस्यले माग गरेका छन् । शनिबार उनीहरुले एक ज्ञापनपत्र सार्वजनिक गर्दै झालाई हटाउन माग गरेका हुन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरिएको ज्ञापनपत्रमा झालाई हटाएर सुशासनको प्रत्याभूति गर्न माग गरिएको छ । रामकुमारी झाँक्री, ठाकुर गैरे, जगन्नाथ खतिवडा, डा विजय पौडेल लगायतका ४३ नेताहरुले संयुक्त रुपमा अध्यक्षद्वयलाई पत्र लेखेका हुन्।

पत्रमा भ्रष्ट तथा विवादित छबी भएका व्यक्तिहरुले नै राष्ट्रपतिबाट विभुषित हुने भएकोप्रति पनि असन्तुष्टि जनाइएको छ। यस्ता कार्यले सरकारको गरिमा र लोकप्रियतामाथि नै धक्का पुग्ने भन्दै यस विषयलाई स्थायी कमिटीको बैठकमा समेत उठाउन माग गरिएको छ।

‘दिगम्बर झा र उनीजस्ता भ्रस्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस्।’, पत्रमा भनिएको छ। संस्थागत भ्रस्टाचारका घटनालाई अनुसन्धान गर्दै कारबाहीको दायरामा ल्याउन तत्कालै अभियानको थालनी गर्नसमेत माग गरिएको छ। ‘एनसेलजस्ता कम्पनीहरुले हाकाहाकी कर छलिरहेका छन् ।

सरकारलाई विगतदेखि नै असहयोग गरिरहेका छन्। यस्ता संस्थागत भ्रस्टाचारका घटनाहरुलाई क्रमशः छिमल्दै र कारबाहीको दायरामा ल्याउँदै जानका लागि तत्कालैदेखि अभियान सञ्चालन गर्न आवश्यक छ’, पत्रमा भनिएको छ, ‘यसको सुरुवात राजनीतिक नियुक्ति पाएका भ्रस्ट छबीका व्यक्तिहरुको नियुक्ति खारेजीबाट गरियोस्।’