बेलडाँडीदेखि शुक्लाफाँटा प्रवेसका लागि नयाँद्वार खोलिदै

बेलडाँडीदेखि शुक्लाफाँटा प्रवेसका लागि नयाँद्वार खोलिदै


विमल धामी

कञ्चनपुर- कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेसका लागि नयाँद्वार खोलिदैछ । निकुञ्ज अवलोकनका लागि एकमात्र प्रवेसद्वार थियो, अब अर्को प्रवेसद्वार खुल्ने भएको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि नयाँ प्रवेसद्वार खुल्न लागेको हो ।

स्थानीयको माग अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बेलडाँडीदेखि पर्यटक प्रवेसको लागि नयाँ प्रवेशद्वार खोल्न निर्देशन दिएकोछ । गत चैत्रमा कालिकिच उपभोक्ता समितिले वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेतलाई बेलडाँडीदेखि निकुञ्ज अवलोकनका लागि नयाँ मार्ग खोलिदिन माग गरेका थिए । ज्ञापन पत्र बुझ्दै वनमन्त्री बस्नेतले स्थानीयले अघि सारेको माग बमोजिम पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

स्थानीय समेत रहेका उर्जा,जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुन(अनन्त)का प्रेस सल्लाहकार पत्रकार रोशन खडकालको पहलमा बेलडाँडी गाउँपालिका–२ कालिकिचदेखि निकुञ्ज प्रवेसका लागि द्वार खोल्ने काम अघि बढेको हो । निकुञ्ज विभागले शुक्लाफाँटालाई प्रवेसद्वार संचालकनका लागि एक वटा टिकट काउण्टर निर्माण बाहेक अन्य आवश्यक न्यूनतम पुर्वाधार समेत रहेकाले बेलडाँडी रेञ्जपोष्टमा नयाँ प्रवेसद्वार खोली संचालनमा ल्याउन आवश्यक देखिएका भनि १७ भदौँको पत्रबाट सिफारिस गरिएको जनाएको छ ।

विभागले शुक्लाफाँटालाई तीन बुँदे निर्देशनात्मक आदेश समेत दिएको छ । निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेसद्वारा खोली कार्यालयको स्वीकृत संगठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट सञ्चालनमा ल्याउने, टिकट काउण्टर लगायत न्यूनतम पर्यटकीय पुर्वाधारको सुविधा कार्यालयको बार्षिक कार्यक्रम, सरोकारवाला निकायको समन्वय सहयोग तयार गर्दैजाने र पर्यटक, नेचर गाईड, राजस्व सुरक्षा व्यवस्था कार्यालयले मिलाई समयमै नियमित रुपमा राजस्व राखिला गर्न समेत निर्देशन जारी गरिएको छ ।

विभागका सहायक व्यवस्थापन अधिकृत विष्णू प्रशाद थपलियाले हस्ताक्षर गरेको पत्रमा १६ असोजको निर्णयनुसार कार्यान्वयन गराउन निर्देशन दिईएको छ । कालिकिच उपभोक्ता समितिका अध्यक्ष भीम बहादुर थापाले सरकारले गरेको निर्णय कार्यान्वन हुनुपर्नेमा जोडदिए । उनले सरकारले गरेको निर्णय कार्यान्वनमा आएमात्रै स्थानीयले बेलडाँडीदेखि पनि प्रवेसद्वर खुलेको महसुस गर्ने उनको भनाई छ ।

बेलडाँडीदेखि निकुञ्ज प्रवेसद्वारा खुलेसंगै दक्षिणी क्षेत्रका स्थानीय मात्र नभई भारतीय र हवाईजहाज चढेर धनगढी विमान स्थल पुग्ने पर्यटकलाई समेत लाभ हुनेछ । धनगढीदेखि महेन्द्रनगर ६५ किलोमिटर दुरी टाढा छ, भने धनगढीदेखि बेलडाँडीको दुरी पनि झण्डै ५५ किलोमिटर दुरी टाढा पर्छ । मझगाउँदेखि फाँटासम्मको दुरी २४ किलोमिटर छ, भने बेलडाँडीदेखि १२ किलोमिटरमै फाँटाको दुरी छ । बेलडाँडीदेखि चौधरनदीमा पुल आवश्यक पर्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले विभागले दिएको पत्र अनुसार तयारी भईरहेको बताए ।

उनका अनुसार बेलडाँडीदेखि निकुञ्ज प्रवेसको नयाँद्वारको भव्य रुपमा उद्घाटन गरिनेछ । सहायक संरक्षण अधिकृत चौधरीले प्रवेसद्वार खुलेको प्रचार प्रसार गर्नका लागि समेत उद्घाटन कार्यक्रमलाई प्रभावकारी बनाईने बताए । उनले त्यसका लागि स्थानीय एव सरोकारवाला निकायसंग समेत छलफल भईरहेको छ । जंगल सफारिका लागि समेत योजना अघि सारिएको सहायक संरक्षण अधिकृत चौधरीले बताए ।

आफ्नै गाउँदेखि निकुञ्ज प्रवेसका लागिद्वार खुल्ने भएपछि स्थानीय हर्षित भएका छन् । यस अघि सडक दुर्घटनाको जोखिम मोलेर महेन्द्रराजमार्ग महेन्द्रनगर नगर हुँदै मझगाँउदेखि शुक्लाफाँटा जाने पर्यटकका लागि सुरक्षित यात्रा हुने देखिएको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागिद्वारा खुलेसंगै दक्षिणी क्षेत्रका आर्थिक कारोबारमा समेत बृद्धि हुने अनुमान गरिएको छ ।