प्रवक्ता प्रकाण्डको टिप्पणी – एमालेसंग माओवादीको एकता नभइ माओवादी केन्द्र एमालेको टाङमुनि छिरेको हो

प्रवक्ता प्रकाण्डको टिप्पणी – एमालेसंग माओवादीको एकता नभइ माओवादी केन्द्र एमालेको टाङमुनि छिरेको हो


काठमाडौं – सरकारले विभिन्न समूहहरुसंग वार्ता गर्ने भनी वार्ता टोली गठन गरेको मिडियामा थाहा पाएपनि आफ्नो दल कुनै समूह नभएकाले सरकारले आफ्नो दलसँग वार्ता गर्न चाहेको हो या होइन भन्ने प्रष्ट नभएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताएका छन् ।

‘सरकारले विभिन्न समूहहरुसँग वार्ता गर्न वार्ता टोली गठन गरेको भनेको सुन्यौं तर हामी समूह हैनौं, हामी त उनीहरुको भन्दा ठूलो पार्टी हौं’ प्रकाण्डले भने-‘हामी वार्ता बिरोधी त हैनौं तर सरकारले अफिसियल्ली हामीसँग वार्ताका लागि केही गरेको छैन ।’

सरकारले गठन गरेको वार्ता टोली अधिकारसम्पन्न पनि नभएको उनले टिप्पणी गरे । सरकारले सांच्चै आफ्नो दलसंग वार्ता गर्न चाहेको हो भने के का निम्ति वार्ता गर्ने भनेर एजेण्डा प्रष्ट पार्नुपर्ने उनले बताए । सरकारले गत साउनतिर आफ्नो पार्टीका नेतामाथि दमन गरेर दबाउन खोजेपनि अन्ततः थेग्न नसकेपछि त्यो सरकारकै लागि प्रत्युत्पादक भएको र त्यसपछि वार्ताको नाटक गरेको आरोप लगाए ।

उनले आफूहरु वार्ताप्रति संकिर्ण नभएको दोर्होयाए । सरकारले एकातिर वार्ताको कुरा गर्ने अर्को्तिर आफ्नो दललाई अघोषित प्रतिबन्ध लगाउन खोजेको पनि नेता विश्वकर्माले उल्लेख गरे । अहिलेको संसदीय व्यवस्था र दलका नेताहरु असफल भएकाले सत्ताको नेतृत्व ५ वर्ष आफूलाई दिनुपर्ने आफूहरुको माग रहेको उनले बताए ।

आफूहरुले ५ वर्ष सरकारको नेतृत्व गर्न पाए अहिलेको अवस्थामा आमूल परिवर्तन गरेर देखाइदिने र नसके ५ वर्ष भन्दा बढी एक दिन पनि सत्तामा नबस्ने पनि उनले बताए । तर, यही व्यवस्था अन्तर्गत हुने चुनावमा भाग भने नलिने उनले प्रष्ट पारे । आफूहरुले अब पहिलेको जस्तो पुरानो जनयद्ध नगर्ने दावी गर्दै अब सुरक्षा निकायका राष्ट्रवादीहरु,उद्योगी,व्यवसायी सबैको साथ लिएर शहरबाटै एकीकृत जनक्रान्ति गर्ने बताए ।

फरक प्रसंगमा उनले एमालेसंग माओवादीको एकता नभइ माओवादी केन्द्र एमालेको टाङमुनि छिरेर आत्मसमर्पण गरेको टिप्पणी गरे । अब प्रचण्डले केपी ओली र पूर्वएमालेले जे भन्छन् त्यो खुरुखुरु मान्नुको विकल्प नभएको भन्दै दायाँबायाँ नगर्न आग्रह गरे । शान्ति प्रकृयामा आइसकेपछि प्रचण्ड बिग्रिएको आरोप लगाउंदै उनले दिनभरी मान्छेसंग भेट गर्ने र सांझ परेपछि राति अबेलासम्म रक्सी खांदै बस्ने, पुस्तक नपढ्ने गरेको आरोप लगाए । प्रचण्डका यस्तै बानीका कारण पनि पार्टी विभाजन भएको उनको तर्क थियो ।