संघीय संसदको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची

संघीय संसदको हिउँदे अधिवेशन आजदेखि, यस्तो छ कार्यसूची


काठमाडौं – संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)को हिउँदे अधिवेशन बुधबार सुरु हुँदैछ।  दोस्रो अधिवेशन अन्त्य भएको तीन महिनापछि हिउँदे अर्थात् तेस्रो अधिवेशन सुरु हुन लागेको हो।

संसद भवन नयां बानेश्वरमा बुधबार दिउँसो ४ बजे बस्ने पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने र त्यसपछि संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

बैठकमा प्रशासकीय अदालत विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने संसद् सचिवालयले जनाएको छ। यस्तै संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेश २०७५ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा भने संसद्का पूर्वसदस्य चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधार र मोतिदेवी चौधरीको निधनमा शोक पारित गरिने कार्यसूची छ। आजै बस्ने राष्ट्रियसभामा बैठकमा पनि राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन, दलका नेताबाट शुभकामना मन्तव्य, कर्मचारी समायोजन अध्यादेश प्रस्तुत हुने र बैठकको अन्त्यमा पूर्वसांसद बाँस्तोला, तुलाधर र चौधरीको निधन भएकामा शोक प्रस्ताव प्रस्तुत गरी पारित गर्ने कार्यसूची तय रहेको छ।