प्रतिपक्षी दललाई समेत गलाउने प्रचण्डको संसदमा सम्बोधन 

प्रतिपक्षी दललाई समेत गलाउने प्रचण्डको संसदमा सम्बोधन 


काठमाडौं –नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर विकास निर्माणको काम अघि बढाउन वर्तमान सरकारले सकारात्मक पहल गरिरहेको बताएका छन् । आजबाट शुरु भएको हिउंदे अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले केही कमजोरीका बावजुद विकास निर्माणको कामले बिस्तारै तिव्रता पाइरहेको बताएका हुन् । 

संसदलाई सम्बोधन गर्दै प्रचण्डले लाजिम्पाटबाट खुमलटार सर्दा एक वर्षसम्म धुलो र मैलोमा बस्नु परेको भएपनि अहिले स्थिति फेरिएको दावी गरे ।  ‘म बस्ने ठाउंमा मात्र भएको हो कि भन्दा सबैतिर सडक निर्माणलगायतका काम अघि बढेको छ । बर्खापछि काठमाडौंमा मास्क लगाउने जनता घटेको देख्छु ।’  प्रचण्डले भने । उनले प्रधानमन्त्री ओलीसंग काठमाडौंको धुलो मैलो हटाउन पहल गर्न आफुले आग्रह गरेको बताए । 

करिव ४० मिनेट वोलेका प्रचण्डले नुवाकोट र दाङ्गमा भएको दुर्घटनाप्रती दुख व्यक्त गर्दै मृतकका परिवारमा समवेदना समेत प्रकट गरेका थिए । उनले देशमा लोकतान्त्रिक पद्दतिभन्दा कम्युनिष्ट शासन भएको भए विकास चांडो हुने समेत बताए । 

पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संविधान कार्यान्वयन  साझा दायित्व भएको भन्दै प्रतिपक्षी दल कांग्रेसलाई सहयोगी भुमिका निर्वाह गर्न आग्रह गरे ।

संविधान कार्यान्वयनको जिम्मेवारीलाई सफलता पुर्वक सम्पन्न गर्न मिलेर अघि बढ्नुको विकल्प नभएको प्रचण्डको भनाई थियो ।  

अधिकांश समय सरकारको रक्षा गरेका प्रचण्डले संविधानसंग बांझिएका थुप्रै ऐनहरु संसोधन गर्नुपर्ने जिम्मेवारी संसदको रहेको भन्दै प्रतिपक्षी दलको पनि सकारात्मक सहयोग आश्यक पर्ने बताए । 

सहकार्यमा जोड 

नेकपा अध्यक्ष प्रचण्डले विगतमा सत्तापक्ष र प्रतिपक्षी दल मिलेर अघि वढेको स्मरण गर्दै आगामी दिनमा पनि सहकार्य गर्दे अघि बढ्नुपर्नेमा जोड दिए ।

२००७ सालवाट सुरु भएको लोकतान्त्रिक र प्रजातान्त्रिक आन्दोलनको उत्कर्षको रुपमा संविधान निर्माण र त्यसपछिको निर्वाचन रहेको टिप्पणी गर्दे उनले इतिहासको निकै महत्वपुर्ण परिर्वतनलाई संस्थागत गर्दै गरेको विषयलाई सामान्य नलिन उनले आग्रह गरे ।

अहिलेसम्मका उपलब्धि शिशु अवस्थामा नै रहेको भन्दै उनले सत्तापक्ष र प्रतिपक्षी मिलेर प्राप्त उपलब्धिको संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए । 

विकास र सम्वृद्धिलाई सामुहिक जिम्मेवारीको रुपमा नबुझ्ने हो भने प्राप्त उपलब्धि संरक्षण गर्न नसकिने भन्दै उनले सहमति र सहकार्यलाई आत्मसाथ गर्न प्रतिपक्षी दललाई आग्रह गरे ।