कस्ता हतियार छन् चीनसित ?

कस्ता हतियार छन् चीनसित ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रतीक जाखड ,

चिनियाँ फौजले ३० जुलाईमा सम्पन्न सैनिक परेडमा कैयौँ नयाँ हतियार प्रदर्शन गरेको छ । यो अवसर थियो, १ अगस्टमा पूरा हुने पिपुल्स लिबरेसन आर्मी (पिएलए) को ९० औँ वार्षिकोत्सव । १२ सयभन्दा बढी सैनिक जवानले यसमा भाग लिएका थिए । यस अवसरमा चिनियाँ राष्ट्रपति सी जिनपिङ सैनिक पोसाकमा उपस्थित थिए । परेडका क्रममा उनले सेनालाई आधुनिक बनाउने बताए । उनले भने— युद्ध लड्न र जित्नका लागि एक शक्तिशाली सेना तयार गरिएको छ । सी सत्तामा आएपछि चिनियाँ सेनामा निकै ठूलो परिवर्तन आएको छ । यो अधिक सक्षम र विश्वस्तरीय आधुनिक सेना बनेको छ ।

 

चिनियाँ रक्षा मन्त्रालयका अनुसार परेडका क्रममा करिब ६ सय सैनिक हार्डवेयर प्रदर्शन गरिएका थिए । जसमा करिब आधाजति चाहिँ पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शित गरिँदै थियो । चिनियाँ सैनिक जवानले सेनाको नियमित पोसाकको साटो युद्धका क्रममा लगाउने कपडामा परेड गरेको यो नै पहिलो अवसर थियो । यहाँ सो अवसरमा पहिलोचोटि प्रदर्शित गरिएका ती हतियारको चर्चा गरिँदै छ ।

नयाँ रकेट
पिएलए रकेट फोर्सको स्थापना डिसेम्बर २०१५ मा भएको थियो । सैनिक परेडमा उसको प्रदर्शन यो नै पहिलो हो । रकेट फोर्सले पाँच मोडल प्रदर्शित गरेको थियो, जसमा नयाँ र पुराना दुवै प्रकारका मोडल थिए । यिनमा परम्परागत रकेटदेखि लिएर न्युक्लियर मिसाइलसम्म सामेल थिए ।

 

यी रकेटमा नयाँ जेनरेसनको डगफेँग (डिएफ)–३१एजी इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि सामेल छ, जसले १० हजार किलोमिटरसम्म प्रहार गर्न सक्छ । यसका अतिरिक्त मध्यम दूरीसम्म प्रहार गर्ने ब्यालेस्टिक मिसाइल डिएफ–२६ तथा डिएफ–१६ जी ब्यालेस्टिक मिसाइल पनि थिए । डिएफ–१६ जीलाई बेइजिङमा भएको पहिलो सैन्य परेडमा प्रदर्शित गरिएको थियो ।

 

हङकङस्थित सैन्य विश्लेषक लोङ क्वाक लोङले ताइवानी समाचार एजेन्सी सिएनएलाई बताए— चीनमा मिसाइललाई नामकरण गर्ने वर्तमान प्रणालीअनुसार ‘ए’ परमाणु हतियारका लागि हुन्छ भने ‘बी’ सामान्य हतियारका लागि र ‘जी’ संशोधित संस्करणका लागि प्रयोग गर्ने गरिन्छ ।

 

चिनियाँ सरकारी टिभीले परेडका क्रममा कमसेकम १६डिएफ–३१एजी मिसाइल देखाएको थियो । यसलाई डिएफ–३१ एको विकसित रूप मान्ने गरिन्छ । यसका अतिरिक्त नयाँ हवाई डिफेन्स मिसाइल पनि परेडमा देखाइएको थियो । यिनमा एचक्यु–९बी तथा एचक्यु–२२ जस्ता मिसाइल पनि सामेल थिए । एचक्यु–९बी जमिनबाट हावामा प्रहार गर्न सक्षम छ भने एचक्यु–२२ विङ विमान तथा क्रुज मिसाइललाई रोक्ने काममा प्रयोग हुन्छ । सिंगापुरको पत्रिका द स्ट्रेट टाइम्सको रिपोर्टअनुसार एचक्यु–९बी मोबाइल एयर डिफेन्स सिस्टम एचक्यु–९ को विकसित रूप हो, जसलाई विवादित दक्षिण चीन सागरमा तैनाथ गरिएको थियो ।

आधुनिक फाइटर जेट
जे–१६ फाइटर जेटलाई पहिलोपटक जनतासामु ३० जुलाइको परेडमा प्रदर्शित गरिएको थियो । यसलाई चेङयाङ एयरक्राफ्ट कर्पोरेसनद्वारा विकसित गरिएको हो । यो जे–११बी प्रविधिमा विकसित गरिएको छ । जो रुसको सुखोई–३०एमकेकेकै संशोधित रूप हो ।

चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार जे–१६ दुई सिट र दुई इन्जिनवाला फाइटर विमान हो । जसलाई कैयौँ उद्देश्यमा प्रयोग गर्न सकिन्छ । चाहे त्यो हावाबाट हावामा प्रहार गर्ने विषय होस् या हावाबाट पानीजहाजमा । यो विशेषगरी नौसैनिकका लागि तयार गरिएको छ ।

चिनियाँ सैन्य विश्लेषक यिन झूले चाइना न्युज सर्भिसलाई बताए— जे–१६ मा प्रहार गर्ने जबर्जस्त क्षमता छ । यसमा जडान गरिएको राडार संसारकै सबैभन्दा राम्रो छ । राडारबाट जोगिएर निस्कने कार्यमा सबैभन्दा भरपर्दो फाइटर जेट जे–२० को पनि त्यस परेडमा झलक देखाइएको थियो । यसलाई चेङ्दु एयर स्पेस कर्पोरेसनले तयार गरेको हो । जे–२० चीनमै तयार गरिएका फाइटर विमानको चौथो जेनरेसन हो, जो लामो दूरीसम्म प्रहार गर्न सक्षम छ ।

विद्युतीय युद्ध उपकरण
पिएलएले अत्याधुनिक विद्युतीय युद्ध उपकरण पनि प्रदर्शन गरेको छ । उसले पहिलोपटक आफ्नो सूचनातन्त्रको क्षमता सार्वजनिक रूपमा प्रदर्शन गरेको छ । परेडमा विद्युतीय सूचना प्रविधि प्रदर्शन गर्ने टोलीका प्रमुख वु फेइले भनेका छन् कि लडाइँको मैदानमा शत्रुको राडारलाई असफल बनाउने १६ विद्युतीय उपकरण परेडको क्रममा प्रदर्शित गरिएका थिए ।

सैन्यशक्ति
टिप्पणीकारका अनुसार चिनियाँ सेनाको आधुनिकीकरणका साथै चीन यस विषयमा अमेरिकाको समकक्षमा पुग्दै गएको छ । सिन्ह्वाले पिएलको उदयलाई स्मरण गर्दै लेखेको छ— यी चमचमाउँदा हतियार देख्दा लाग्छ— पिएलएले १९२७ मा नानचाङमा आफ्नो उदयदेखि आजसम्म आइपुग्दा निकै लामो दूरी तय गरेको छ । तर, सैन्य विशेषज्ञका अनुसार यी सब तयारीका बाबजुद चिनियाँ सेना वास्तविक लडाइँको परिस्थितिका लागि तयार छैनन् । यीमध्ये अधिकांश हतियारको वास्तविक लडाइँमा उपयोग गर्न बाँकी नै छ ।
(बिबिसी हिन्दीको समाचार मनिटरिङ)
बिबिसी हिन्दी डट कमबाट

नयापत्रिका दैनिकबाट साभार ।