प्रहरीलाई घूस दिन खोज्दा खाेरमा

प्रहरीलाई घूस दिन खोज्दा खाेरमा


राँझा- इलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरीलाई घूस दिन खोज्ने दुई गोरु व्यापारी पक्राउ परेका छन् ।

प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहलाई  ५० हजार घूस दिन खोज्ने कोहलपुरका नवराज थापा र हेटौँडाका अब्दुल देवान पक्राउ परेका हुन् ।

“बिहान फोन गरेर जरुरी काम छ भनेका थिए, मैले केही मुद्दा मामिला होला भनेर कार्यालयमै आउनुस् भनेको थिएँ,” नायब उपरीक्षक सिंहले भने, “हामी गोरु व्यापारी हाैं, सहयोग गर्नुप-यो भन्दै मेरो टेबलमा पैसा राखेपछि उनीहरुलाई पक्राउ गरिएको हो।”

बाँकेका ग्रामीण क्षेत्रबाट गोरु जम्मा गरी तस्करी हुने गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले बिहीबार मात्र नेपालगञ्ज पुगेर बाँके र बर्दियाका प्रहरी अधिकारीलाई प्रलोभनमा पारेर रकम दिन खोज्नेलाई पक्राउ गरेर मुद्दा चलाउन निर्देशन दिएका थिए।